शेरबहादुर हटाएर कांग्रेस कब्जा गर्न खोज्ने कार्य स्वीकार्य छैन, हस्ताक्षर गर्न धम्काइयो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटा व्यक्तिलाई हटाएर नेतृत्व कब्जा गर्न खोज्ने समूहबाट सतर्क रहनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको आम निर्वाचन र १५औँ महाधिवेशनमा महिलाको सहभागिता विषय छलफललाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘एउटा व्यक्ति शेरबहादुर देउवालाई मात्रै हटाएर नेपाली कांग्रेस बढ्छ भन्ने जुन सोँचका साथ नेपाली कांग्रेसलाई बढाउँदै छौँ यहि नै आज नेपाली कांग्रेसको दुर्भाग्य भएको छ ।’

तरुण अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनमा जाऔँस भन्ने हाम्रो आग्रह छ । नियमित महाधिवेशनबारे केन्द्रीय कार्यसमितिको जारी बैठकले निर्णय गर्ने अपेक्षा लिएका छौँ ।’

तरुण अध्यक्ष गुरुङले भदौ २३ र २४ गतेको आन्दोलन अन्तिम नरहेको बताए । उनले आगामी दिनहरूमा त्यस्ता आन्दोलन हुन सक्नेतर्फ संकेत गर्दै आन्दोलनबाट हुने मानवीय र भौतिक क्षति नियन्त्रणका लागि तरुण दलले पूर्वतयारी गर्ने बताए ।

‘अब हुने कुनै पनि आन्दोलनको घुसपैठहरू, कलकारखाना जल्नेहरूको विरुद्धमा अब हुने लुटपाटको विरुद्धमा हामी अगाडि बढ्ने छौँ,’ गुरुङले भने, ‘आन्दोलनको दिनमा सर्तकता अपनाउँदै अगाडि बढने छौँ ।’

अध्यक्ष गुरुङले कांग्रेसमा एउटै व्यक्ति पटक पटक सांसद र मन्त्री बन्ने परम्परा रहेको भन्दै त्यो पद्धतिमा बहस गर्न सुझाव दिएका छन् । प्रश्न गर्दै उनले भने, ‘नेपाली कांग्रेसमा एकजना कति पटक माननीय हुन पाउने ? एउटा नेता कति पटक लड्न पाउन ? कति पटक हार्न पाउने ? कति पटक मन्त्री हुन पाउने ? यो विषय पार्टीभित्र छलफल भएको छ ?’

तरुण दलका अध्यक्ष गुरुङले भदौ २४ गतेको ध्वंशात्मक प्रदर्शनबारे नेपाली कांग्रेसले धारणा सार्वजनिक गर्न नपाउँदै नेतृत्व परिवर्तनमा भएको गतिविधिको विरोध गरेका छन् । उनले भने, ‘हाम्रा नेताहरूको घर जलिरहेको थियो । हाम्रा नेताहरू कोही छिमेकी र कोही आफन्तकोमा बस्न बाध्य भएको अवस्था थियो । त्यही मौका पारेर गाउँगाउँमा हाम्रा नेता, कार्यकर्ताहरूलाई धम्काएर विशेष महाधिवेशनका नाममा हस्ताक्षरको अभियान चलाइयो ।’

‘के त्यस्तो आईपर्‍यो कांग्रेसभित्र जेनजीका नाममा विशेष महाधिवेशनको नाममा हस्ताक्षर अभियान चलाइयो ? भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनले नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरेको अवस्था थियो ? नेपाली कांग्रेसको महाविधेशन यो हाम्रो पार्टीको आन्तरिक कुरा थियो,’ तरुण अध्यक्ष गुरुङले प्रश्न गर्दै भने ।

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा नेपाली सेनाको नियन्त्रणमा हुनुहुन्थ्यो । जहाँ अत्यन्तै गम्भीर अवस्थामा हुनुहुन्थ्यो । देशभरिका नेता, कार्यकर्ताले आफ्नो सभापति बाँचेको हेर्न चाहन्थ्यौँ । भेट्न चाहन्थ्यो,’ उनले भने ।

‘नेपाली कांग्रेसका आम कार्यकर्ताहरूलाई एकढिक्का बनाएर अबैधानिक सरकारलाई अबैधानिक रुपमा बन्दै गर्दा यो सरकारको बारेमा हाम्रो धारणा आउन नपाउँदै आज वडादेखि, क्षेत्रदेखि, जिल्लादेखि केन्द्रसम्म विभाजनको अवस्थामा हामी पुग्यौँ । नेपाली कांग्रेसलाई सहि ढंगले अगाडि लैजान सक्छ ? कुनै एक व्यक्तिको प्रलोभनले यो पार्टी बन्दैन । यतिखेर व्यक्तिलाई प्राथमिकतामा राख्ने हो भने यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्न सक्थ्यो रास्वपा, रवि लामिछानेका कारण । यदि व्यक्ति केन्द्रित गरेर राजनीति गरियो भने यदि त्यो नेता तलमाथि भएको अवस्थामा यो पार्टी डुब्न सक्छ,’ गुरुङले भने ।

‘भदौ २४ गते घटेको घटनालाई के हामी भुल्न सक्छौँ ? यो देशमा आज सुरक्षा निकाय छ कि छैन भन्ने अवस्थामा छ । हजारौँ गोलीगठ्ठा र हतियार बाहिर छ । हजारौँको संख्यामा जेलबाट अपराधीहरू बाहिर छन् । सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ । के यो मुलुकमा फागुन २४ गतेको घटना के हुन सक्दैन ?’ उनले भने ।

‘सिंहदरबार जल्दै गर्दा हिजो यिनै बालेन साहहरूले सिंहदरबार जलाउने सपना देखेका थिए । त्यो आज पूरा गरेका छन् । यिनको भण्डाफोर कांग्रेसले गर्ने कि नगर्ने ? कांग्रेसभित्र विभिन्न जेनजी आन्दोलनलाई सहयोग गर्ने र २४ गतेको घटनामा भएको घुसपैठहरूको पर्दाफास हामीले गर्ने कि नगर्ने ? यो तत्वहरूको खोजी हामीले गर्ने कि नगर्ने ? यो कुराबाट कांग्रेस मुक्त हुन सकेनौँ भने भोलि पनि पर्न सक्छौँ,’ अध्यक्ष गुरुङले भने ।

‘भदौ २३ र २४ गते जेनजीको आन्दोलन भयो । २३ गते केही घटना भयो । त्यही घटनालाई देखाएर २४ गते विध्वंश भयो,’ उनले भने ।

‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि घरमै बसेका बेला सांघातिक हमला भयो । कांग्रेसका तमाम केन्द्रीय नेताहरूको घर लुटियो, जल्यो । केन्द्रीय कार्यालय जल्यो । जिल्ला कार्यसमितिका भवनहरू जलाइए,’ उनले भने ।

Published : Thursday, 2025 November 20, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया