ब्यूरोद्वारा लागुऔषध खैरो हिरोइनसहित चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध ब्यूरो, काठमाडौंले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंमा ब्यूरोले पत्रकार सम्मेलन गरेर भारतबाट खैरो हिरोइन ल्याएर काठमाडौंलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालाई सार्वजनिक गरेको हो ।

सप्तरीको राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार साह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिएका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले छापामार्दा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको उनले बताए ।

सप्तरी राजविराजका देवको काठमाडौं महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरी नगरपालिकास्थित ढुङ्गे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिएका छन् ।

खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौंमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको यादवले जानकारी दिएका छन् ।

Published : Sunday, 2025 November 16, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया