हाम्रो कमजोरी भनेको नै प्रणाली केन्द्रित बहस नगरेर व्यक्ति केन्द्रित बहस गर्नु हो : कल्याण गुरुङ
कल्याण गुरुङ
हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको नै प्रणाली केन्द्रित बहस नगरेर व्यक्ति केन्द्रित बहस गर्नु हो । प्रणालीगत परिवर्तनको विषयमा बहस गर्दा पनि एउटा व्यक्ति खराब भयो भने सर्वस्व नाश हुन्छ भन्ने उदाहरणबाट बहसको प्रारम्भ र अन्त्य गर्छौं । प्रणालीको अगाडि व्यक्ति एउटा सानो अंश मात्र हो भन्ने सत्यलाई बिर्सिन्छौं र मनगढन्ते पूर्वाग्रही निचोड निकाल्छौं ।
सत्तामा रहेर सत्ताको स्वाद चाखिसकेकाहरू वा स्वाद चाखिरहेकाहरू तथा समाजमा बसेर संघर्ष गरिरहेकाहरूको आनीबानी, सोंच, व्यवहार र कुनै व्यक्ति, विषय या मुद्दालाई हेर्ने दृष्टिकोणमा नै अतुलनीय फरक हुने रहेछ । यही असमानता, विभेद र चरम असंतुष्टिको घर्षणले नै अभेद जिजीविषु संघर्षलाई जन्म दिने रहेछ ।
पत्रिका, अनलाईन, युट्यूब, सामाजिक संजालहरू र लेख रचनामा आएका गंभीर विषयहरूलाई पुरै नपढीकन वा नहेरिकन केवल हामी हेडलाईन हेरेको भरमा मात्रै धारणा बनाउँछौं र कमेन्ट गर्छौं ।
हामीमा कुनै विषयको गंभीरतालाई १० मिनेट पढने वा ५० मिनेट हेर्ने पनि धैर्यता छैन । गंभीर विषयहरूलाई प्राथमिकतामा राखेर एक घण्टा पढने वा एक घण्टा हेर्ने फुर्सद नभएको व्यक्तिले के समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र ? मानिसलाई उत्तेजित तुल्याउनु, अराजक बनाउनु र सकारात्मक आमूल परिवर्तन ल्याउनु पृथक पृथक विषयहरू हुन् ।
हामी जति धेरै अधैर्य समाज निर्माण गर्छौं, देशको समृद्धि र आमूल परिवर्तन त्यति नै पर धकेलिन्छ । आफू वा आफ्नो समुदायलाई मनोवैज्ञानिकरुपमा अदृश्य केन्द्रविन्दुमा राखेर धारणाहरू प्रस्तुत गर्छौं । आफ्नो जाती, समुदाय र भूगोलभन्दामाथि उठेर विशुद्ध प्रणालीको विषयमा मात्र बहस भएको दुर्लभ नै पाइन्छ । हामी यथायिस्थितिमा परिवर्तन त चाहन्छौं । तर, परिवर्तनको लागि चुकाउनु पर्ने मूल्य र धैर्यको लागि तयार हुँदैनौं । हामी संसारको सबै व्यक्ति, संस्था, नीति र प्रणालीमा परिवर्तन चाहन्छौं तर, आफू स्वयं कहिल्यै परिवर्तन हुँदैनौं । परिवर्तन हामीले आफू स्वयंबाट शुरु गर्ने हो कि ?
हामी हाम्रो सपनाको राजकुमार आएर सबै बेथितिहरू पल भरमा नै समाधान गरोस् भन्ने चाहन्छौं, जुन सपनामा त संभव हुन सक्छ तर, विपना असंभव छ । हाम्रा सपनाहरू अरु कसैले आएर पूरा गरिदिँदैन, आफू स्वयंले पूरा गर्नु पर्छ । हाम्रो सपनाहरू हामी आफैले पूरा गर्ने साहस गर्नु पर्छ र यसको लागि चुकाउनु पर्ने मूल्य र धैर्यको लागि पनि तयार रहनु पर्दछ । यो असल शासकीय प्रणाली, नीतिगत स्पष्टता र राज्यका दरिलो संस्थाहरूबाट मात्र संभव हुन सक्छ ।
हामी प्रणालीमा सुधार वा परिवर्तन त चाहन्छौं तर, प्रणालीमा नै भरोसा गर्दैनौं । हामी नीतिगत सुधार त चाहन्छौं तर, नीतिमा नै विश्वास गर्दैनौं । हामी व्यक्तिमाथि नै विश्वास, भरोशा र आशा गर्दछौं । व्यक्तिको पूजा, अराधाना, गुणगान र चाकडी गर्ने मानसिकताबाट माथि उठनै सकेका छैनौं । आफूलाई परिवर्तनको वाहक त भन्छौं । सत्य के हो भने यसमा कसैले पनि विश्वास गरि रहेको छैनन् ।
आफूलाई अग्रगामी र अरुलाई पश्चगामी ठानेर ठूलठूलो स्वरमा कुर्लनेहरू पनि अधिकांश दास मानसिकताबाट माथि उठन सकेका छैनन् ।
दास मानसिकताको क्रान्तिकारी भन्दा क्रान्तिकारी मानसिकताको दासबाट सकारात्मक आमूल परिवर्तन संभव छ ।
आमूल परिवर्तनको प्रमुख शत्रु नै दास मानसिकता हो जुन सबै पुस्ता, उमेर, समुदाय र वर्गमा रहेको हुन सक्छ । मानसिक दासहरूको विश्वास हुँदैन ।
रोबोट हुनुमा गौरव गर्छन् र रिमोटको तालमा आफ्नो नाच देखाउछन् र समाजलाई अचम्मसंग नजानिदो तरिकाले बर्बाद पारिरहेका छन् ।
यहाँ सबैले रोबोट खोज्छन् र रोबोटलाई नै रोज्छन् किनकी योग्यता र क्षमता नभए पनि यहाँ सबैलाई रिमोट बन्नै पर्ने मनोरोगले प्रशस्त गाँजेको छ ।
प्रणालीमा सुधार वा परिवर्तन गर्नु छभने प्रणालीमा नै केन्द्रीत भएर बहस गरौं । नीतिमा परिवर्तन वा सुधार चाहने भए नीति केन्द्रित भएर बहस गरौं । संसारमा कुनै पनि प्रणाली वा नीति यस्तो छैन कि जसमा असल र खराब पक्षहरु संगसंगै रहेको नहोस् । आमूल परिवर्तनले समय, धैर्य, निरन्तरता र एकाग्रता माग्छ । जादुगरको जस्तो क्षणिक नक्कली छुमन्तर माग्दैन ।
प्रणाली तथा नीतिको चरित्र र मानिसको स्वभावमा धेरै नै फरक हुन्छ । प्रणालीले राम्रोगरी काम गर्न थाल्यो भने जस्तोसुकै खराब व्यक्ति आए पनि प्रणाली र नीतिहरूले थोरै समयमा नै त्यस व्यक्तिमा धेरै सुधार ल्याउन सक्छ । जस्तोसुकै राम्रो व्यक्ति आए पनि उसले जकडिएर रहेको प्रणाली र नीतिमा धेरै समय लगाएर पनि थोरै सुधार ल्याउन सक्ने संभावना मात्र हुन सक्छ ।
यसैले, व्यक्तिभन्दा असल प्रणाली नै आमूल परिवर्तनको लागि अति आवश्यक हुन्छ । प्रणालीको बिकल्पमा उत्तम प्रणाली नै हुन्छ, कुनै व्यक्ति हुँदैन ।
यसर्थ, असल प्रणालीको बहसलाई नियोजित र पूर्वाग्रही तरिकाले कुनै खराब स्वभावको व्यक्तिको उदाहरण दिएर अन्त्य गर्ने प्रवृतिले समाज र देशलाई अन्धकारमा पारि राखेको छ र अझ अनन्त अन्धकारतर्फ धकेल्ने संभावना बढन पनि सक्छ । सचेत बनौं ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया