गगनले पार्टीभित्र बबण्डर मच्चाएपछि सहमति खोज्न कार्यसमिति २ दिन पछाडि गयो

काठमाडौं । महामन्त्री गगन थापाले पार्टीभित्र बिभिन्न खालका बखेडा झिकेर बबण्डर मच्चाइरहेका बेला कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आन्तरिक परामर्श गर्न केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पछाडि सारेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक अब मंसिर १ गते सोमबार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्नेछ । बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र १५औँ महाधिवेशनका विषयमा निर्णय लिनेछ ।

समग्र विषयमा पार्टीभित्र सरसल्लाह गरेर असन्तुष्ट पक्षको पनि धारणा सम्बोधन हुने गरेर निर्णय लिन कार्यबाहक सभापति खड्काले दुई दिनका लागि कार्यसमिति बैठक सारेका हुन् । कार्तिक २९ गते शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब सोमबार मात्रै बस्नेछ ।

सभापति शेरबहादुर देउवा शुक्रबार राति काठमाडौं अवतरण गरेका छन् । उपचारका लागि सिङ्गापुर गएका सभापति देउवा स्वास्थ्य लाभ गरेर आएका छन् । देउवासँग नेतृ डा.आरजु राणा पनि स्वदेश फिर्ता भएकी छिन् । सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यले भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर अराजक, उत्तेत्तिज र हिंसात्मक समूहले सांघातिक आक्रमण गरेर गम्भीर रुपमा घाइते बनाएको थियो ।

सभापति देउवाको हत्या हुने गरेर सांघातिक आक्रमण भएका बेला कांग्रेस कब्जा गर्ने उद्देश्यका साथ महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् । महामन्त्री थापा विशेष महाधिवेशनको पक्षमा निकै आक्रमक रुपमा प्रस्तुत भइरेका छन् ।

महामन्त्री थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न दिएका छैनन् । निकै आक्रामक रुपमा प्रस्तुत भएका थापाका पछिल्ला गतिविधिहरू पार्टी विभाजनतर्फ उन्मुख भइरहेको भनेर टिकाटिप्पणी आइरहेका छन् ।

Published : Saturday, 2025 November 15, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया