संस्थापनका केन्द्रीय सदस्यहरूद्वारा निकासका लागि मध्यमार्गी सुझाव पेश, गगन–विश्वको प्रस्ताव अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरूले १५औं महाधिवेशनका सम्बन्धमा पार्टी नेतृत्वलाई मध्यमार्गी सुझावहरू दिएका छन् ।
शुक्रबार केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय, सानेपामा आफ्ना सुझावहरूसहितको पत्र बुझाएका छन् । सुझाव दिने केन्द्रीय सदस्यहरू संस्थापन निकटका हुन् । संस्थापनका केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । उनीहरूले नियमित महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् ।
नेताहरूले सुझावमा भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति आदरणीय श्री शेरबहादुर देउबाज्यूको निवासमा उहाँ र उहाँकी धर्मपत्नी, पार्टीको केन्द्रीय सदस्य तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि सांघातिक हमला र अमानवीय व्यवहार गरियो, यो घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछौँ ।’
‘भादौ २३ २ २४ गते भएको घटनाको निश्पक्ष छानबिन गरी अपराधिक कार्यमा संलग्न सबैलाई कानूनको दायरामा ल्याई कारबाही गर्न माग गर्दछौं,’ उनीहरूले भनेका छन् ।
‘जेनजी आन्दोलनबाट जननिर्वाचित संसदको असंवैधानिक विघटन र सरकारको गठन पश्चात विकसित अनअपेक्षित राजनैतिक घटनाक्रमले राजनैतिक दलहरूमा पनि अन्योलता देखिन्छ,’ सुझावमा भनिएको छ ।
‘नेपालको हरेक संकटको बेला नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका इतिहाँसले पुनः एकपटक नेपाली कांग्रेसको काँधमा सुम्पेको छ,’ सुझावमा भनिएको छ ।
‘आजको गम्भीर र कठिन परिस्थितिको सामना नेपाली कांग्रेको वैचारिक स्पस्टता र सांगठनिक एकताबाट मात्र सम्भव छ र जारी केन्द्रीय समितिले यो भावनालाई सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ नेताहरूले भने ।
‘जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसलाई आजको परिस्थितिको सामना गर्न सक्ने बैचारिक स्पष्टता र सांगठनिक एकताले मात्र सम्भव छभन्ने जारी बैठकको पहिलो दिन असोज २८ गते आदरणीय सभापतिज्यूको मन्तव्यमा ने नेपाली कांग्रेसको एकता आजको आवश्यक्ता, वर्तमान अवस्थामा व्यक्तिगत वा गुटगत स्वार्थलाई थाती राखरे एकताबद्ध हुन र आगामी १५औं महाधिवेशन वैधानिक व्यवस्थाअनुसार गर्न निर्देशनात्मक मन्तव्य समेत दिनु भएको सन्भर्दमा नेपालीजनको अपेक्षा पूरा गर्दै लोकतान्त्रिक व्यवस्थालाई मजबूत बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै यस जारी केन्द्रीय समितिको बैठकबाट निम्न वमोजिमका निर्णयले इतिहाँसले सुम्पेको जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी केन्द्रीय सदस्यहरूले सामूहिक रुपमा हाम्रो विचार पेश गरेका छौं,’ सुझावमा भनिएको छ ।
‘१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुडकिलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियासिल सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने । आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औं महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ सुझावमा भनिएको छ ।
‘वर्तमान अवस्थालाई मध्यनजरगरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको हुँदा अविलम्ब निर्वाचन समिति विस्तार गरी पूर्णता दिनुपर्ने,’ सुझावमा भनिएको छ ।
‘आगामी १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाती, थारु, मधेशी, मुश्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, अब हुने स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने,’ सुझावमा उल्लेख छ ।
सुझावमा भनिएको छ, ‘संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक सम्बाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारण निर्माण गर्ने ।’
संस्थापन समूहका केन्द्रीय सदस्यहरूले बुझाएको सुझावले पार्टी नेतृत्वलाई छलफल गरेर सहमतिमा निर्णय गर्न सहज हुने नेताहरूले बताएका छन् ।
सुझावमा हस्ताक्षर गर्नेहरूमा राजेन्द्रकुमार के.सी., भारतकमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, गणेश लामा, कर्णबहादुर बुढा, डा.डिला संग्रौला, अब्दुल रज्जाक, आङगेलु शेर्पा, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिनमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्की रहेका छन् ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया