गगन–विश्वलाई संकेत गर्दै सहमहामन्त्री राठौरले भने– नालायक पदाधिकारीहरू
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले जेनजीको प्रदर्शनपछि देश अप्ठेरो अवस्थामा रहेको बताउँदै त्यसको प्रत्यक्ष प्रभाव देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमाथि परेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै राठौरले भने, ‘देश जलेको बेला पार्टी एकढिक्का हुनुपर्छ ।’
‘अहिलेको संकट समाधानको उत्तम बाटो निर्वाचन नै हो । पार्टी एकढिक्का भएर निर्वाचनमा जानुपर्छ,’ उनले भने ।
‘आन्तरिक निर्वाचनका कारण पार्टीले आमनिर्वाचनहरूमा पटकपटक क्षतिको सामना गर्नु परेको छ,’ उनले भने, ‘हामीले आफूलाई लोकतान्त्रिक पार्टी भने पनि तदअनुरुप लोकतान्त्रिक संस्कार विकास गर्न नसक्दा आफ्नाले आफ्नैलाई हराउने परिपाटीले जरा गाडेको छ ।’
सहमहामन्त्री राठौरले भने, ‘त्यसले हाम्रो जनमत खुम्च्याउँदै लगेको छ । अहिले संकटका बेला पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा जाऔं र निर्वाचनपछि महाधिवेशन गरौं ।’
‘महाधिवेशन पनि सकेसम्म सर्वसम्मतिमा गरौं, नभए लोकतान्त्रिक अभ्यास त छँदैछ,’ सहमहामन्त्री राठौरले भनेका छन् ।
‘होइन, निर्वाचनअघि नै महाधिवेशन गर्नैपर्छ भन्ने हो भने विशेष महाधिवेशनमा जाऔं । किनभने कार्यसमिति बाहिर भएकाहरूले विशेष महाधिवेशन माग गर्नु अस्वाभाविक होइन तर, कार्यसमितिमै भएकाहरू, त्यसमाथि पदाधिकारीहरूबाटै विशेष महाधिवेशनको माग हुन्छ भने विशेष महाधिवेशनमा जान खुट्टा कमाउनु हुँदैन,’ उनले भने ।
‘त्यो अवस्थामा म विशेष महाधिवेशनको पक्षमा छु । हामी जनताबाट, कार्यकर्ताबाट अनुमोदित भएर आएका हौं । कसैले हेप्न खोज्छ भने हेपिनु हुँदैन । म हेपिन्न,’ उनले भने ।
सहमहामन्त्री राठौरले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिएर उनीहरूले आफैलाई नालायक भनेर स्वीकार गरेको बताए ।
‘हामी कांग्रेसका नेता नालायक छौं, हौं भनेर जिम्मेवार केही पदाधिकारीहरूबाटै कुरा आएको छ,’ राठौरले भने, ‘किनभने जो मुख्य जिम्मेवार भूमिकामा छ उसैले नेतृत्व नालायक भयो भन्नुको अर्थ आफूसमेत नालायक भनेको हो । त्यो सही होइन । म त्यो कुरा मान्दिनँ । तर, हो कि हो भनेर कराउँदैमा समस्या समाधान हुन्छ भन्ने लाग्छ भने कार्यसमिति भंग गरौं र एउटा जेनजीलाई नेतृत्व सुम्पौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया