नियमित महाधिवेशनको पक्षमा पोखरामा युवाहरूको भेला, मानवीय समवेदना नभएका दुई महामन्त्रीको भूमिकाको आलोचना

पोखरा । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५औँ महाधिवेशन नियमित हुनुपर्ने पक्षमा दवाव सिर्जना गर्नुपर्ने बताएका छन् ।

बुधबार पोखरामा आयोजित नेपाली कांग्रेस १५औं महाधिवेशन समयमा गर्न आयोजित दवावमुलक बृहत भेलाका सहभागीहरूले विशेष महाधिवेशनको आवश्यकता र औचित्य नरहेको बताए । उनीहरूले विशेष महाधिवेशनमा जाँदा पार्टी विभाजन हुने जोखिम रहेको भन्दै केन्द्रीय नेतृत्वले संयमतापूर्वक निर्णय गर्नुपर्ने सुझाव दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको भन्दै युवा नेताहरूले आक्रमणको भर्त्सना गर्न पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुट्टा कामेको बताए । उनीहरूले महामन्त्री थापा र शर्मामा मानवीय समवेदनाको कमी रहेको बताए ।

नेपाली कांग्रेस गण्डकीका सदस्य यामबहादुर मल्ल ‘रामकृष्ण’ले भदौ २३ र २४ गतेपछिको कांग्रेसको अवस्था निकै नाजुक बनेको भन्दै चिन्ता जनाए । उनले पार्टी कब्जा गर्ने उद्देश्यले केही नेताहरू व्यक्ति स्वार्थमा लागेको भन्दै युवाहरूले सचेत गराउनुपर्ने बताए ।

नेता मल्लले पार्टीमा कसैको आलोचना गर्दा सामाजिक सञ्जालबाट साइबर सेनाको प्रयोग गरेर नेताहरूको चरित्रहत्या गर्ने परम्परा मौलाएको भन्दै आक्रोश पोखेका छन् । उनले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् ।

समयमा महाधिवेशन गराउने जिम्मेवारी दुई महामन्त्री थापा र शर्माको रहेको भन्दै सभापति शेरबहादुर देउवालाई मात्रै दोष थोपर्न नपाइने बताए । उनले सभापति देउवा र नेतृ डा.आरजु राणामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् ।

कार्यक्रममा मेखलाल श्रेष्ठ (उपसभापति, गण्डकी कांग्रेस), यामबहादुर मल्ल ‘रामकृष्ण’ (सदस्य, गण्डकी कांग्रेस), पुष्प शाही, डा.अबुल हुसैन अन्सारी, आदर्श मल्ल लगायतका युवा नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2025 November 12, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया