पोखरा १५ अर्ब घोटालाका प्रदीपको समूह सुशीला सरकारलाई झुक्काएर ३० करोड खाने दाउँ, उजुरी दर्ता
काठमाडौं । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निर्माण कम्पनीलाई सेटिङमा ३० करोड बोनस खुवाउन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
बुधबार नक्सालस्थित आयोगको कार्यालयमा दर्ता भएको उजुरीमा महानिर्देशक अधिकारी लगायत पदाधिकारीहरूलाई तत्काल छानबिन गरी कारबाहीको माग गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब रुपियाँ भ्रष्टाचारमा मुछिएपछि कारबाही सिफारिसमा परेका महानिर्देशक अधिकारीविरुद्ध अख्तियारमा सयौं उजुरी दर्ता भएका बेला अर्को उजुरी दर्ता भएको छ ।
उजुरीमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अहिले नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवनको निर्माण सम्पन्न नहुँदै झण्डै ३० करोड जति रुपियाँ तोकिएको समयभन्दा अधि नै काम सम्पन्न गरेको नाटक गरेर बोनस दिँदैछन्, ठेक्केदार कम्पनीलाई सेटिङमा । यसको सत्य तथ्य अनुसन्धान गरी महानिर्देशकलाई कारबाही गर्न यो उजुरी पेस गरेको छु ।’
उजुरीमा नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन सेटिङ कै आधारमा ठेक्का दिएको विवरण र जानकारीका दस्तावेजहरू पनि अख्तियारमा बुझिएको उल्लेख छ ।
नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन बनाउँदा सेटिङका कारण राज्यलाई ५० देखि ६० करोड नोक्सानी भएको उजुरीमा उल्लेख छ । सेटिङ्ग बापत् ७/८ करोड रुपियाँ लिएको दाबी गरिएको छ ।
जाहेरीमा नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनको सेटिङ र घोटालामा संलग्न रहेको भन्दै महानिर्देशक अधिकारी, नलविक्रम थापा, मुरारी भण्डारीलाई अनुसन्धान गरी हदैसम्मको कारबाही माग गरिएको छ ।
सेटिङमा संलग्न व्यक्ति र योजनाकारका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरहरू प्रदीप अधिकारी, प्रवेश अधिकारी, चाँदमाला श्रेष्ठ तथा प्रशासनका राजेन्द्रप्रसाद पौडेल रहेको उजुरीमा उल्लेख छ ।
‘भ्रष्टाचार अनियमितता गर्ने उद्देश्यले सम्पूर्ण रुपमा सेटिङ्ग मिलाउने र उक्त सेटिङ्गबाट उठेको पैसा लिने कार्य हालका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको मुख्य योजनामा भएको पाइन्छ । काम तोकिएको समयभन्दा अगाडि सकाएको नाटक गरेर बोनस दिने । तर, बिराटनगर, भरतपुर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण व्यवसायीले तोकिएको समयमा काम नसकाएर पटक पटक म्याद थप गरेका छन् । काम ढिलो गर्नेलाई प्राधिकरणका महानिर्देशक अधिकारीले आजसम्म पनि जरिवना गरेका छैनन् ।’
‘त्यसकारण कानूनी छिद्र प्रयोग गरेर नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माणको विषय तोकिएको समयभन्दा अघि नै सकाएको देखाएर ३० करोड बोनस जुन दिन लागेको छ,’ उजुरीमा भनिएको छ, ‘त्यसलाई तत्काल रोकेर महानिर्देशक अधिकारी सहित संलग्न कर्मचारीहरूमाथि कारबाहीको माग गर्दछौं ।’
जेनजी प्रदर्शनपछि सुशासनका लागि बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्राधिकरणका महानिर्देशक अधिकारीको भ्रष्टाचारका काण्डहरू बारम्बार बाहिर आउँदा समेत कारबाही भएको छैन । सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारी सहितको समूहलाई निलम्बन गरेर कारबाही सिफारिस गरेको छ । महानिर्देशक अधिकारी कुन शक्ति र ताकत प्रयोग गरेर कारबाहीको दायरमा नपरेर बसेका हुन् गम्भीर प्रश्न उठेको छ ।
महानिर्देशक अधिकारी २÷३ महिनापछि कार्यकाल समाप्त भएर जाने तरखरमा छन् । महानिर्देशकबाट जानुभन्दा अगाडि अधिकारीले झर्ने ठाउँहरूबाट निचोरेर झार्ने अभियानमा लागेका छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया