महामन्त्रीहरू असफल भइसके, रगतको टाटा सुक्न नपाउँदै सभापतिको आलो घाउमा प्रहार भयो : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा लागेको चोटको रगतको टाटा सुक्न नपाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रहार गरेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय, सानेपामा बसेको कन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘पार्टी सभापतिको रगतको टाटा सुक्न नपाउँदै, भिडियो कन्फरेन्स मार्फत आलो घाउमै सभापतिमाथि प्रहार गर्नु पर्ने जरुरी किन थियो ? मानवीयता कतै हराएजस्तो देखियो ।’

नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका केन्द्रीय सदस्य बस्नेतले भने, ‘यो केवल देउवाविरुद्धको आक्रमण थिएन – सम्पूर्ण पार्टीमाथिको आक्रमण थियो ।’

नेता बस्नेतले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाप्रति प्रश्न उठाएका छन् । सरकार सञ्चालका क्रममा भदौ २२ गतेसम्म सभापति शेरबहादुर देउवासँग मिलेर अवसर लिएको भन्दै नेता बस्नेतले भदौ २४ गतेपछि अचानक सभापति देउवालाई छाडेर महाधिवेशन माग गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

बस्नेतले प्रश्न गर्दै भने, ‘कार्यवाहक सभापति तथा महामन्त्रीद्वयबीच केही संवाद प्रयासहरू भएको सुन्न आएको छ । यसमा मेरो कुनै गुनासो छैन, किनकि त्यो बेलाको राजनीतिक परिस्थिति उहाँहरूको पनि अत्यन्त जटिल थियो । भदौ २२ गतेसम्म सबैजना सभापतिसँग मिलेर बसेर सरकार सञ्चालनमा भाग बाडेर बस्ने अनि भदौ २५ गतेदेखि अचानक सभापतिलाई छाडेर अधिवेशन ? वाह !! निषेधको राजनीति किन ?’

‘यसले भोलि कांग्रेसलाई नै असर गर्छ । त्यसैले यी दुई महामन्त्रीहरू असफल भइसक्नु भएको छ, पदीय दायित्व बाट विदा लिनु पर्दछ । उहाँहरू बढी परीक्षण भइसक्नु भयो,’ केन्द्रीय सदस्य बस्नेतले भने ।

Published : Wednesday, 2025 November 12, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया