जसले भदौ २४ को विध्वंशको रचना गर्यो, त्यो शक्ति कांग्रेस, एमालेजस्ता दललाई सत्तामा आउन दिन चाहँदैन : दीपक गिरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले भदौ २४ गतेको विध्वंशको रचना शक्तिले कांग्रेस, एमाले जस्ता शक्तिलाई सत्तामा आउन नदिने पक्षमा रहेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गिरीले भने, ‘साथीहरू, हामीले बिर्सन नहुने कुरा के छभने जसले भदौ २४ को विध्वंशको रचना गर्यो, त्यो शक्ति कांग्रेस, एमालेजस्ता राष्ट्रिय दललाई फेरि सत्तामा आउन दिन चाहँदैन ।’
‘यो कुरा घाम जत्तिकै छर्लंग छ । हामीलाई हराउन यहाँ हरेक तिकडम गरिने वाला छ,’ गिरीले भने, ‘त्यो कुरा समयमै बुझेर हामीले त्यसै अनुसार कदम चाल्नु पर्नेछ ।’
केन्द्रीय सदस्य गिरीले जेनजी पुस्ताको आन्दोलनको आवरणमा घुसपैठ गरेर जनधनको क्षति र राष्ट्रिय धरोहरमा ध्वंश गरिएको बताए । उनले भने, ‘जेनजी पुस्ताले शुरु गरेको आन्दोलन र सो आन्दोलनको आवरणमा गरिएको घुसपैठको क्रममा भएको जनधनको ठूलो क्षतिबाट बाहिर निस्कन मुलुकलाई वर्षौं लाग्ला । देशभरि कांग्रेस नेतृत्व र कार्यालय, धरोहर र हाम्रा साथीहरूमाथि छानीछानी हमला गरियो ।’
‘कोइराला निवासदेखि चाक्सीबारीसम्म, सन्त नेता किशुनजीको आश्रमदेखि देशैभरि हाम्रा साथीहरूको घरमा कसले आगो लगायो ? छानबिन गरेर दोषीलाई कडा कार्वाहीको माग गर्दछु,’ नेता गिरीले भने, ‘मुलुक अत्यन्तै संवेदनशील अवस्थामा छ । नेपालको स्वतन्त्र अस्तित्वमाथि नै खतरा छ भनेर २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्कनु भएको पनि ५० वर्ष पूरा हुन थाल्यो । गएको ५० वर्ष यता हाम्रो मुलुक अहिले सम्भवतः सबैभन्दा जोखिमपूर्ण अवस्थामा छ ।’
‘हाल विभिन्न नेता तथा विविध तहका महानुभावहरूले मुलुक ठूलो संकटमा रहेको बताइरहनु भएको छ,’ गिरीले भने, ‘त्यो संकटको श्रोत के हो ? आन्तरिक हो कि बाह्य ? त्यस्तो संकटसंग कसरी जुध्ने ? यस्तोबेला मुलुकलाई नेपाली कांग्रेसबाट उचित नेतृत्वको अपरिहार्य रहेको छ ।’
नेता गिरीले भने, ‘हामीले परराष्ट्र सम्बन्ध मजबुद बनाउन नसकेको चारैतिर छर्लङ देखियो । परराष्ट्र सम्बन्ध मजबुद बनाउन पार्टीले दिशानिर्देशन गर्न सक्नुपर्छ,’ केन्द्रीय सदस्य गिरीले भने ।
‘अब डिजिटल र लैङ्गिक समावेशिता, युवा शिक्षामा परिमार्जन, पूर्वाधार विकासमा नयाँ मोडल, अन्तर्राष्ट्रिय सम्झौताहरूमा पुन मूल्याङ्कन जस्ता काम हाम्रो नेतृत्वले गर्नुपर्छ,’ उनले भने, ‘देशलाई उपयुक्त निकास दिन यो बैठकले मार्गदर्शन गर्नुपर्छ ।’
‘देशभरि हिंसा चर्किएका बेला प्रतिनिधि सभा विघटनको दबाब उपयुक्त थिएन । संकटको निकास संविधानसम्मत ढंगले, जननिर्वाचित प्रतिनिधि सभाबाटै खोजिनु पर्थ्यो,’ उनले भने ।
‘प्रतिनिधि सभा भंग गरिएका कारण थुप्रै समस्या र जटिलताहरू देखिन थालेका छन् । देशभरि हिंसा र आगजनी गरेर, सम्माननीय राष्ट्रपतिज्यू माथि दबाब दिएर प्रतिनिधि सभा भंग गर्न वाध्य पारिनु आपत्तीजनक छ ।’
‘यसको पछाडि कसको, कस्तो स्वार्थ थियो ? छानबिन गरिनु पर्छ । अन्यथा, भविष्यमा पनि जननिर्वाचित प्रतिनिधि सभा अवैधानिक रुपमा विघटन गरिने खतरा रही रहन्छ’, नेता गिरीले भने ।
‘राष्ट्रिय सभाको चुनावको मिति घोषणा भइसकेको छ । असंवैधानिक कदम सच्याउन र संविधान संशोधनलगायत जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्न कांग्रेस पनि संसद् पुनःस्थापनाको पक्षमा लाग्नुपर्छ,’ उनले भने ।
‘प्रधानमन्त्री हुन वा मन्त्री हुन संसद् पुनःस्थापना गर्न चाहेको होइन, जनताका असन्तुष्टीहरूलाई समावेश गरी सविधान संशोधन गर्दा राम्रो होला भन्ने मेरो सुझाब हो,’ उनले भने, ‘यसबारे चालु केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक धारणा बनाउन म आग्रह गर्न चाहन्छु ।’
पूर्वमन्त्री समेत रहेका नेता गिरीले भने, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको लागि सुदृढ शान्ति सुरक्षाको वातावरण अनिवार्य शर्त हो । अहिले मुलुकको शान्ति सुरक्षा अत्यन्तै नाजुक स्थितिमा छ । पाँच हजारभन्दा बढी कैदी बन्दीहरू अझै फरार छन् । झन्डै एक हजार थान बन्दूक लगायत गोली गट्ठा लुटिएका छन् ।’
‘सरकारले भदौ २३ र २४ गतेको प्रदर्शनमा बल प्रयोग, तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध छानबिन अगाडि नबढाउने संकेत देखाउन थालेको छ,’ उनले भने, ‘यसबाट उत्पन्न हुने दण्डहीनताले थप अपराध बढाउने र आम निर्वाचन गराउनु असम्भव छ ।’
उनले भने, ‘त्यसैले शान्ति सुरक्षाको स्थिति चुस्तदुरुस्त पर्न हामीले सरकारलाई दबाब दिनु पर्छ । हाम्रा साथीहरू र जन समुदायलाई पनि परिचालन गर्नु पर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया