बुटवलमा फाईभ स्टार होटल ‘हायात प्लेस’ सञ्चालन
बुटवल । तीन अर्ब ५० करोड लगानीमा बुटवलमा पहिलोपटक पाँचतारे (फाईभ स्टार) होटल ‘हायात प्लेस’ सञ्चालनमा आएको छ ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर हायात प्लेसले सेवा सुरुवात गरिएको जानकारी दिएको छ । बुटवल उप–महानगरपालिका वडा नं. ८ मा २५ कठ्ठा क्षेत्रफलमा होटल निर्माण गरिएको छ ।
होटल पाँच वर्षमा निर्माण पूरा भएको छ । होटलमा नेपाली परम्परागत वास्तुकला र विश्व सम्पदामा सूचिकृत बुद्ध जन्मस्थल लुम्बिनीसित मेल खाने गरी संरचना तयार गरिएको छ ।
होटलमा एकपटकमा २ सय ५० जना अट्ने क्षमता रहेको सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिएका छन् ।
होटलमा रूपन्देहीका प्रतिष्ठित उद्योगी चुन्नुप्रसाद पौडेल, भूमिराज पौडेल, नरिश्वर शर्मा पौडेल, कमल मालपानी र उमाशंकर मालपानी परिवारसँगै ग्लोबल आईएमई बैंक तथा स्याफ्रोन सिकेको संयुक्त लगानी रहेको छ ।
पर्यटन लक्षित पूर्वाधार देखेर हस्पिटालिटी क्षेत्रमा लगानी गरे पनि अहिलेको राजनीतिक अस्थिरता लगायत कारणले उत्साहित हुने वातावरण नरहेको अध्यक्ष पौडेलले बताएका छन् ।
बुटवलको कुसुमपथमा रहेको होटलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २५ र लुम्बिनी ४६ किलोमिटर दूरीमा रहेको छ । होटलबाट बेलहिया नाका २८ किलोमिटरको दूरीमा छ ।
होटलको व्यवस्थापन हायात प्लेसले लिएको छ । सन् २००६ मा शुरु भएको हायात प्लेस अहिले विश्वका ४ सय २० स्थानमा फैलिएको छ । होटलमा पाहुनाका लागि सुत्न, काम गर्न र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थान रहेका छन् ।
होटलको वास्तुकला पनि लोभलाग्दो रहेको सञ्चालक पौडेलले बताए । होटल प्रवेशलगत्तै चारवटा वास्तुकला खम्बा रहेका छन् ।
होटलमा सुन्दर डिजाइनका १ सय ९ कोठा रहेका छन् । अध्यक्ष पौडेलका अनुसार यी कोठालाई स्ट्यान्डर्ड, फरेस्ट भ्यु, हिल भ्यु, बाल्कोनी, एक्जिक्युटिभ स्विट्स र प्रेसिडेन्सियल स्विट गरी ६ श्रेणीमा विभाजन गरिएको छ ।
‘दुई तला अन्डरग्राउन्ड पार्किङ सुविधा रहेको होटलको दोस्रो तलामा जिङ रेस्टुरेन्ट रहेको छ,’ अध्यक्ष पौडेलले भने, ‘यो दिनैभरि खुला रहने रेस्टुरेन्ट हो ।’
रेस्टुरेन्टमा १ सय ४७ जना अट्ने क्षमता छ । रेस्टुरेन्टको डिजाइन मन्दिरको घण्टी र मायादेवी मन्दिरको इँटाबाट प्रेरित रहेको अध्यक्ष पौडेलले बताए ।

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भनेर सरकारले भन्दै आएकाले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने होटलका सञ्चालक कमलकिशोर मालपानीले बताएका छन् ।
मालपानीले भने, ‘सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पूर्णक्षमतामा सञ्चालनमा ल्याउनुपर्छ, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सञ्चालन हुनुपर्छ । यी दुई पूर्वाधार सञ्चालनले मात्रै रुपन्देहीका होटल र पर्यटन व्यवसायलाई राहत दिन सक्छ ।’
होटलले पूर्णक्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिनसक्ने जनाएको छ । जसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरिश्वर शर्माले बताएका छन् ।
होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमा हुनेछ । होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुमपथमा करिब ३ सय मिटर सार्वजनिक सडक करिब ४० लाख रुपियाँ आफ्नै लगानी गरेर पक्की र सौन्दर्यीकरण गरेको सञ्चालक भूमिराज पौडेलले बताएका छन् ।
होटलमा कार्यक्रम सञ्चालनका लागि १ हजार १ वर्गमिटर क्षेत्रफलको सभागृह छ । यसका साथै बैठक र कर्पोरेट कार्यक्रमका लागि साना र ठूला हल रहेका छन् ।
होटलमा सुन्दर पौडी पोखरी, पहिलो तल्लामा आधुनिक व्यायामशाला, माटोको घरबाट प्रेरित स्पा तथा ज्याकुजी सुविधा छ । बालबालिकाका लागि खेल्ने ठाउँ पनि रहेको छ ।
होटल हायात प्लेसमा केही समयपछि स्तरीय क्यासिनो पनि सञ्चालनमा ल्याइनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया