आलमको निधनप्रति कांग्रेसद्वारा गहिरो दुःख व्यक्त, शोकका कार्यक्रमहरू निर्धारण

काठमाडौं । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ६३ वर्षीय मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । आलमको शनिबार बिहान करीव २ बजे काठमाडौंको सिनामंगलस्थित एक अस्पतालमा उपचारका क्रममा भएको निधन भएको थियो ।

वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गा.वि.स. वडा नं. ४ मा जन्मिएका आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए । वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट उनी विजयी भएको कांग्रेसले जनाएको छ ।

वि.सं. २०६७ मा सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनमा आलम नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।

नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरू र संघर्षका क्रममा नेता आलमले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । उनको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा एक मिनेट मौन धारण गरिएको कांग्रेसले जनाएको छ । ‘दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ,’ कांग्रेसले भनेको छ ।

आलमप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रमहरू निर्धारण गरेको छ । २०८२ कात्र्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसले गरेको छ ।

२०८२ कात्र्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छभने स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकपछि जारी शोक वक्तव्यमा उल्लेख छ ।

Published : Saturday, 2025 November 8, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया