डीनाले भनिन्– महाधिवेशनबारे पूर्व तयारी नै छैन, क्रियाशीलमा गम्भीर प्रश्न, गगन–विश्वको ठाउँठाउँमा लापरबाही

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले पार्टीमा चरम व्यक्तिवादी चरित्र हाबी भइरहेको भन्दै अहंताले संगठनलाई असर पारेको बताएकी छिन् ।

शुक्रबार केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा सह–महामन्त्री उपाध्यायले भनिन्, ‘पछिल्ला केही वर्षयता हाम्रो पार्टीभित्र केही चुनौतीपूर्ण प्रवृत्तिहरू मौलाउँदै गएको देखिन्छ । पार्टीभित्रको चरम व्यक्तिवादी चरित्र, आफ्नै पद र शक्तिमा जकडिन खोज्ने प्रवृत्ति, अहंता र आर्थिक लाभप्रतिको आकर्षण जस्ता व्यवहारहरूले हाम्रो संगठनात्मक शुद्धता र सामूहिकतामा प्रतिकूल असर पारिरहेका छन् ।’

‘यी प्रवृत्तिहरूले कांग्रेसको ऐतिहासिक मूल्य, आदर्श, र जनताको सेवा गर्ने चरित्रलाई क्रमशः कमजोर पार्दै लगेको वर्तमान अवस्था हो,’ उपाध्यायले भनिन् ।

उनले भनिन्, ‘आन्दोलन पूर्व सूचना सहि उपलव्ध गराइयो ? सूचनाको सम्प्रेषण गर्ने निकाय किन कमजोर भयो ? यो प्रश्न केवल आरोप होइन—आत्ममूल्यांकनको विषय हो । अर्थात सूचनालाई बेवास्ता गर्ने, अथवा हामीलाई केही हुन सक्दैन भन्ने मनोवृत्ति देखिएको छ । आत्मरति र सानो घेरामा मात्र सल्लाह–परामर्श गर्ने प्रवृत्तिले संगठनभित्र दूरी र असन्तुलन बढाएको अनुभूति धेरैलाई भएको छ ।’

‘म सम्मानपूर्वक एउटा कुरा यहाँ उल्लेख गर्न चाहन्छु पदाधिकारी बैठक २२ गते बिहान हामीलाई पनि (सहमहामन्त्री लगायत) र शीर्ष नेतृत्वलाई बोलाइएको थियो,’ उनले भनिन्, ‘सभापतिज्यू अनभिज्ञ हुनुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो प्रततिवन्ध होइन सरकारले दर्ता गर भनेको हो । केहि हुँदैन भन्ने उहाँको भर्त्सन थियो ।’

सह–महामन्त्री उपाध्यायले भनिन्, ‘मलाई लाग्यो उहाँलाई सूचनाबाट बञ्चित गरेको रहेछ । म छिट्टै निस्के र मिडियाले सोध्दा सामाजिक सञ्जाल प्रतिवन्ध गलत हो भने । सूचना हामीलाई पनि थियो तर, सुनिएन ।’

महामन्त्री गगन थापासहितका नेताहरूप्रति प्रश्न उठाउँदै उनले भनिन्, ‘सरकार सञ्चालनका लागि बनेको संयन्त्रमा को–को बसेर नेपाली कांग्रेसको नीतिगत निर्णय र कार्यान्वयनका प्रक्रियामा काम गर्नु भयो आत्म समीक्षा र स्वमूल्याङ्कन गरौँ म म भनौँ, केवल ४÷५ जना र केहि मन परेका सल्लाहकारबाट चलेको थियो ।’ सरकार सञ्चालनको संयन्त्रमा उपसभाति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा पनि थिए ।

‘आफ्ना सबै काम गराउने अनि अहिले समस्या पर्दा पानि माथिको ओभानो हुँदै आजको अवस्थाको सम्पूर्ण जिम्मेवारी केवल सभापतिमाथि केन्द्रित गर्नु सन्तुलित मूल्याङ्कन होइन गलत हो । किनभने त्यो बेला पनि निर्णय र कार्यान्वयनमा केहि व्यक्तिहरूको प्रभावकारी भूमिका थियो,’ उनले भनिन् ।

‘कृयाशील सदस्यतासम्बन्धी विषय हाम्रो पार्टीको संगठनात्मक आधारसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्त महत्वपूर्ण विषय हो,’ उपाध्यायले भनिन्, ‘पार्टी विधानको सम्बन्धित धारामा स्पष्ट रूपमा उल्लेख गरिएको छ की प्रत्येक वर्ष कृयाशील सदस्यताको नवीकरण गर्नुपर्छ ।’

उनले भनिन्, ‘यो केवल औपचारिक प्रक्रिया मात्र होइन, संगठनलाई जीवित र सक्रिय राख्ने आधारभूत संरचना हो । विडम्बना के छभने, हामीले सो विधान अनुसारको नियमित नवीकरण प्रक्रिया समयमै पूरा गर्न सकेनौं । प्रश्न उठ्छ — किन गरेनौं ? यदि विधानमा स्पष्ट व्यवस्था छभने त्यसलाई पालना नगर्ने प्रवृत्तिले हाम्रो आन्तरिक अनुशासन र संस्थागत विश्वसनीयता दुवैमा प्रश्न खडा गरेको छ ।’

‘विगतका अनुभवले पनि देखाएको छ–महाधिवेशन नजिकिँदा मात्र हतार–हतार सदस्यता नवीकरण र नयाँ वितरण गर्ने परिपाटी दोहोरिँदै आएको छ । यो प्रवृत्तिले न त सदस्यहरूको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्छ, न त संगठनमा पारदर्शिता र विश्वसनीयता बढाउँछ । महामन्त्री गगन थापाले भन्नु भयो पहिला सधैँ यस्तै भएको थियो अहिले पनि यहि गर्ने अनि तपाईको रूपान्तरणको नारा कहाँ गयो ? रूपान्तरण भन्ने कुरा के केवल व्यक्तिको अदल–बदलमा सीमित रहने हो ? कि प्रणाली, व्यवहार र संस्कृतिको सुधारमा केन्द्रित हुने हो ? साँचो रूपान्तरण भनेको जिम्मेवारीप्रति ईमानदारी र विधानप्रति निष्ठा हो,’ महामन्त्री थापामाथि गम्भीर प्रश्न उठाउँदै उपाध्यायले भनिन् ।

उनले भनिन्, ‘अब हिसाव गरौँ ८ लाख कृयाशील सदस्यले प्रत्येक वर्ष ५० रूपियाँले मात्र नवीकरण शुल्क तिर्दा कति हुन्छ ? ४ करोड । ५ लाखले मात्र गर्दा पनि अढाई करोड । भनिन्छ नि कस्तुरीलाई आफूभित्रको सुगन्ध थाहा नपाएर अरूतिर भौतारीरहेको अवस्था हाम्रो पार्टीको अवस्था छ ।’

‘महामन्त्रीज्यूहरू अत्यन्त व्यस्त व्यक्तित्व हो उहाँहरूलाई देशभरिबाट आमन्त्रण गर्छन् जानै पर्‍यो अनि विदेशबाट पनि, अनि लिएको जीम्मेवारी कसरी पुरा गर्नुहुन्छ । कार्यालयहरूपनि धेरै छन रे कसरी भ्याउनु हुन्छ । म तयार छु अरूपनि हुनुहुन्छहोला, जिम्मेवारी लिन यो कार्य पूरा गरेर देखाइदिन म तयार छु । मेरो प्रस्ताव सरल छ– प्रत्येक वर्षको कृयाशील सदस्यता नवीकरणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरौँ । नागरिकता वा ड्राइभिङ लाइसेन्सजस्तै प्रत्येक सदस्यको लागि डिजिटल कार्ड क्युआर सहित तयार पार्न सकिन्छ, जसले सदस्यताको पारदर्शिता र विश्वसनीयता दुबै बढाउँछ । म गरेर देखाउन सक्छु, म यहाहरू जस्तो पपुलर छैन रात दिन यहि कार्यालयमा बसेर कार्यालयमा पनि धेरै आईटी पढे नपढेपनि अनुभवी विज्ञहरू हुनुहुन्छ उहाँहरूको सहयोगबाट क्युआर सहितको कार्ड बनाइदिन्छु ।’

‘अब हामीले विगतका अस्वस्था परम्पराहरू दोहोर्‍याउनु होइन, विधानको मर्मअनुसार नियमित प्रक्रिया संस्थागत गर्नुपर्छ । कृयाशील सदस्यताको व्यवस्थापन हाम्रो पार्टीको संगठनात्मक बलसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो । यथार्थ के हो भने — म स्वयं सह–महामन्त्री हुँ । आजसम्म मेरो हातमा कृयाशील सदस्यताको कार्ड आएको छैन । हरेक वर्ष नवीकरण फारम भरेको छु । कार्ड पाउने कुरा कहिल्यै पूरा भएको छैन । धेरै सदस्यहरूको गुनासो छ, सदस्यता नै हातमा छैन हामी कांग्रेस हौँ कि के हौँ थाहा छैन हामीले कार्ड पाएका छैनौं, त्यो केवल गुनासो होइन, त्यो पार्टीप्रतिको आत्मीयतालाई कमजोर बनाउने संकेत हो । मृद्वुभाषि महामन्त्री विश्वप्रकाश शर्मा डिजिटलाईजेशनको धेरै कुरा गर्नुहुन्छ कहाँ छ हाम्रो पार्टी डिजिटलाईजेशनमा गएको प्रमाण ? महामन्त्रीज्यूहरू बारम्बार भन्नुहुन्छ– अब सबैलाई अनलाइन प्रणालीमा लैजान्छौं । यस्तो सुनेको पाँच–सात वर्ष भइसकेको छ । प्रश्न उठ्छ — यो कार्य किन अघि बढेन ? कसले रोक्यो ? हामीलाई अब जवाफ मात्र होइन, कार्यान्वयन चाहिएको छ ।’

‘सुधारको कुरा धेरै भनियो, अब व्यवहारमा देखाउने समय आएको छ । कृयाशील सदस्यताको डिजिटल रूपान्तरण नै पारदर्शी, विश्वसनीय र आधुनिक कांग्रेस निर्माणतर्फको पहिलो ठोस कदम हुनेछ । महाधिवेशनको सन्दर्भ अहिले पार्टीभित्रको प्रमुख विषय बनेको छ । पछिल्लो समयमा पार्टीभित्र केहि धार या एक दुई वा अनेक पक्ष जस्तो देखाउने प्रयास भइरहेको छ । तर मेरो बुझाइमा यसको कुनै ठोस अर्थ छैन । अब महाधिवेशन नियमित गर्नुपर्छ भन्ने विषयमा सवैको सहमति नै छ तर, केवल तिथि मिथिमा अल्झेर समय वर्वाद गरीरहेका छौँ । मैले बुझेअनुसार ५४ प्रतिशत हस्ताक्षरको स्वर केवल विशेष अधिवेशनको माग नेतृत्व परिवर्तन मात्र होइन—पूर्ण रूपमा पुनरवलोकन, नीतिगत सुधार, नियमित अधिवेशन र नयाँ यात्राको संकेत हो यसलाई अनादार गर्न मिल्दैन, नगरौँ । अधिवेशनका लागि आवश्यक तयारी, विधान संशोधन समिति, निर्वाचन समितिलाई दिइने आवस्यक कार्यसूची, कृयाशील छानविन समिति र समय तालीकाको संगठनात्मक थालनी तत्काल गरौँ,’ उनले भनिन् ।

उनले भनिन्, ‘अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त छभन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरिएको र संगठनलाई कमजोर देखाउने मौका पाइरहेका छन् । त्यसैले, म विनम्रतापूर्वक सुझाव दिन चाहन्छु—अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो । अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो । हामी सबै मिलेर स्पष्ट निर्णयमा पुगौं, आवश्यक तयारी आरम्भ गरौं र कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाउन प्रतिबद्ध बनौं ।’

‘अब हामी अर्को महत्वपूर्ण चरणतर्फ अघि बढ्दैछौं — निर्वाचन । हामी सबैलाई थाहा छ, लोकतान्त्रिक प्रणालीको मेरुदण्ड नै स्वतन्त्र निर्वाचन हो । यस विषयमा हाम्रो पार्टीभित्र कसैको दुईमत छैन । हामी लोकतान्त्रिक मूल्य र अभ्यासका हिमायती हौं । हाम्रो दृढ विश्वास छ– निर्वाचन नै त्यो माध्यम हो जसले मुलुकको समग्र राजनीतिक, प्रशासनिक र सामाजिक प्रणालीलाई चुस्त, दुरुस्त र उत्तरदायी राख्छ । त्यसैले, अब हामीले निर्वाचनको सिद्धान्त होइन, तयारी र कार्यान्वयनका पक्षमा ठोस योजना बनाउन आवश्यक छ । उम्मेदवार छनोटदेखि नीति सन्देश, जनसंपर्क, संगठन सुदृढीकरण र मतदाता विश्वास पुनः प्राप्त गर्नेसम्मका सबै पक्षमा स्पष्ट कार्ययोजना आवश्यक छ ।’

उनले भदौ २३/२४ को घटानाको स्मरण गर्दै आदरणीय सभापति शेरवहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु देउवामाथी भएको सांघातिक हमलाको भर्त्सना गर्दै उनीहरूको शीध्र स्वास्थलाभको कामना गरेकी छिन् ।

Published : Friday, 2025 November 7, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया