मान्छे मारेर प्रहरी कार्यालय बचाएनौँ, प्रधानमन्त्री र गृहमन्त्री कानून क्षेत्रको व्यक्ति : आईजीपी खापुङ्ग

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयबाट कुनै पनि पत्र नआएको बताएका छन् ।

बिहीबार राति ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा आईजीपी खापुङ्गले गृह मन्त्रालयले पत्र दियो, पुलिसले मानेन भन्ने कुरा गलत रहेको बताए । खापुङ्गले भने, ‘कारबाहीको दायरमा कसरी ल्याउन सकिन्छ भनेर छलफल भएको हो । सौहार्दपूर्ण वातावरणमा कसलाई कसरी ल्याउने भन्ने विषयमा छलफल भएकै हो । बाहिर आएको जस्तो होइन । अहिले हामीले चाल्ने कदमले मुलुकमा भविष्यमा शान्ति सुरक्षामा कस्तो असर पार्न सक्छ भन्ने कुरामा बहस भएको हो ।’

उनले भने, ‘गृह मन्त्रालयले पत्र दियो, पुलिसले मानेन भन्ने किसिमको कुरा हो त्यो गलत कुरा हो । उहाँले कुनै आदेश पनि दिनुभएको छैन । गृहमन्त्रीज्यू, प्रधानमन्त्रीज्यू विशेष गरी कानूनकै क्षेत्रमा लामो समय काम गर्नुभएको कारणले उहाँहरूलाई धेरै क्लियर छ की डियू प्रोशेस अफ ल फ्लो गर्नुपर्छ ।’

‘जबसम्म संविधान ज्यूँदो छ, यो देशको कानून ज्यूँदो छ भनेर हामीले स्वीकार गरिरहेका छौँ भने त्यतिखेरसम्म प्रक्रिया, प्रोशेस फ्लो गरेर जानुपर्छ । भावनामा जान सकिँदैन,’ आईजीपी खापुङ्गले भने ।

‘हरेक सानो सानो कुराहरूको प्रधानमन्त्री, मन्त्री, आईजीपीले अदोश दिइरहेको हुँदैन । आफ्नो आफ्नो डिउटी त सबैले आफ्नो ठाउँमा गरिरहेको हुन्छन् । कसले के गर्ने भन्ने कुरा त निर्धारित छ, ऐन, नियमले कानूनले,’ आईजीपी खापुङ्गले भने ।

भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारीको जिम्मा तपाईले लिनु हुन्छ ? भन्ने जिज्ञासाको जवाफमा आईजीपी खापुङ्गले भने, ‘पुलिसले गरेको कामको जिम्मेवारी लिन्छु म । प्रहरीले आफूले डिउटी पालनाका क्रममा गरेको हो भन्ने कुरामा म आफू ढुक्क छु । प्रहरीले संसद भवन जोगाउन, कुनै पनि सरकारी भवन, सरकारी कार्यालय जोगाउन प्रहरीले व्यक्तिगत रुपमा आफ्नो इच्छाले केही पनि गर्दैन । प्रहरीलाई कानूनले दिएको टास्क हो । प्रहरीले त्यो आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । त्यो गरेन भने पुलिसलाई किन पाल्नेछ ?’

‘प्रहरीलाई बाटोमा तानीतानी, लतारी लतारी, घोँचीघोँची मारेको छ । मान्छेको मानवीय स्वभाव त त्यो रहेछ हैन ? त्यो चाहिँ ठीक हो भन्ने जस्टीफाइ हुन्छ ? युथहरूलाई गोली लाग्यो दुःख लागेको छ,’ उनले भने ।

‘युथहरूलाई, युवाहरूलाई अथवा प्रदर्शनकारीलाई गोली नै हानेर मार्नुपर्छ भन्ने हाम्रो कुनै पनि स्टार्जेटी होइन, छलफल पनि होइन, नीति पनि होइन । तर, भाइटल इन्सरजेन्सीमा आगजनी हुन्छ भने त्यहाँ बसेको डिउटीले के गर्ने त ? यो आन्दोलन अन्तिम होइन । यस्तो आन्दोलन फेरि पनि हुन्छ । हुन सक्छ । भविष्यमा पनि दिन हुन सक्छ । त्यतिखेर आयो भने सबै जलाउन दिने ? यदि त्यसरी छोड्ने हो भने प्रहरी राख्दै नराखे भयो । प्रहरीलाई हतियार नदिए भयो,’ आईजीपी खापुङ्गे भने ।

‘प्रहरीलाई विशेष परिस्थितिमा हतियार प्रयोग गर्ने कानूनले अधिकार दिएको छ । विशेष परिस्थितिमा हतियार प्रयोग गर्नुपर्छ भनेर कानूनमा अधिकार दिइएको होला नि राज्यले ?’ उनले भने ।

‘प्रहरीका कयौँ भवन जले । प्रहरीलाई घिसारी, घिसारी, घोँची घोँची, लतारी लतारी, काटीकाटी मारिएको छ । मारेको सबैले देखेका छन् । यस्तो अवस्थामा मलाई केही भएको छैन भनेर मैले भन्यो भने मैले प्रहरी फोर्सप्रति अन्याय गरेको ठहर्छ । दुखद् छ । प्रहरी आफ्नो सुरक्षाका लागि मात्रै बस्ने सुरक्षा निकाय होइन । भदौ २४ गते कहाँ कहाँ जल्यो त्यसको सुरक्षा गर्न प्रहरी गएको थियो । प्रहरी कार्यालयमा अशक्त, बिरामी मात्रै थियो । हामी जनताको सुरक्षाका लागि बसेका छौँ । हामीलाई आएर जलाउँछन् भन्ने आँकलन पनि हामीलाई भएको होला । कार्यालयमा बस्ने प्रहरीले पनि हतियार चलाउन सक्थ्यो, गोली चलाउन सक्थ्यो । कार्यालय, गाडी, लत्ता कपडा जोगाउनका लागि मान्छे नमारौँ भनेर नै हो । प्रहरी कार्यालय बचाउन गोली चलाएको भए ठूलो जिउधनको क्षति हुन सक्थ्यो,’ आईजीपी खापुङ्गले भने ।

Published : Friday, 2025 November 7, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया