अन्तिम समयमा महाधिवेशनका लागि हल्लाखल्ला गर्नु राम्रो होइन, मंसिरमा हुन सक्दैन : एनपी साउद
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसभित्र अहिले महाधिवेशनको किचलो चलिरहँदा आफूले यो कुरा पहिलेदेखि नै उठाउँदै आएको बताउका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता साउदले भने, ‘सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्थाले हाम्रा श्रद्धेय सभापति (शेरबहादुर देउवा)को ग्रेसफुल एक्जिट विधानले नै सुनिश्चित गरेको छ ।’
उनले भने, ‘चार वर्षभित्र हुनुपर्ने अधिवेशन निर्धारित समयभित्र हुनुपर्छ र नभए पार्टीले निर्धारित गरेको समय सीमाभित्र गर्न पर्ने आवश्यक तयारी समयमै गर्नुपर्दछ भन्ने पार्टीका सीमित व्यक्तिहरूमध्ये म पनि एउटा हुँ ।’
त्यसो भनेबापत आफूले केही अवमूल्यन र आक्रमण सहनु परेको पनि उनले बताएका छन् । ‘विवेकको बोली बोल्न पछि हट्न हुँदैन भन्ने मान्यताले पार्टीका केही नेताहरूका साथ सदन, पार्टीका फोरमहरू, सञ्चारमाध्यम र देशव्यापी भ्रमण गरेर यो सन्देश दिने कोसिस गरेको हुँ,’ उनले भने ।
अहिले अन्तिम समयमा आएर महाधिवेशनका लागि हल्लाखल्ला गर्नु राम्रो संस्कार नभएको नेता साउदले बताए । उनले भने, ‘मंसिरको समय सीमाभित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था हाम्रो छैन ।’
फागुन २१ गते निर्वाचन तोकिएको र कांग्रेसले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरिसके पनि केन्द्रीय समितिले ठोस निर्णय नगरेको साउदले बताएका छन् ।
निर्वाचन हुनेमा भने उनले आशङ्का व्यक्त गरेका छन् । ‘हालैका दिनमा सम्प्रेषित प्रधानमन्त्री, गृहमन्त्री र सरकारका अन्य जिम्मेवार निकायका अभिव्यक्तिहरूले निर्वाचनलाई थप अनिश्चित बनाएको छ,’ साउदले भने ।
निर्वाचन नै नहुने भए न्यायिक निरूपणमार्फत संसद् पुनर्स्थापनाको विषयमा पनि कांग्रेस चुप लागेर बस्न नहुने उनले बताए । ‘निर्वाचन समयमा नभएर जनप्रतिनिधित्व बिनाको शासन लामो समयसम्म चल्ने जोखिमबाट बच्न भए पनि हाम्रो पार्टीभित्र चुनाव नहुन सकेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दा न्यायिक निरूपणको विषय हुनसक्छ भन्ने मत पनि छँदै छ,’ उनले भने ।
निर्वाचन नै अनिश्चित भएको अवस्थामा निर्वाचनको अगाडि वा पछाडि कहिले महाधिवेशन गर्ने भन्ने मुद्दाले पार्टीको बहस विभाजित बनेको उनले बताए ।
‘हामी केन्द्रीय समितिको जिम्मेवारीमा रहेका नेताहरूले आवश्यक तयारी र प्रक्रिया पूरा नगरेको कारणले के हामी पारदर्शिता र एकता बिना फागुनमा हुने निर्वाचन अगाडि महाधिवेशन गर्न सक्छौँ त ? भन्ने गम्भीर वस्तुपरक प्रश्न उठेको छ,’ नेता साउदले भने ।
अहिलेको अवस्थामा महाधिवेशन मिति तोक्दा फागुनको निर्वाचन पछाडि सरे महाधिवेशन वैशाखमा र निर्वाचन वैशाख पछाडि सरे महाधिवेशन फागुनमा गर्नुपर्ने अवस्था देखिएको पनि उनले बताए ।
महाधिवेशन जहिले भए पनि चुनाव र अधिवेशन दुवै कुराका लागि पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने, साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा लामो समयदेखि घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार गर्दै अगाडि बढ्नुपर्नेमा उनले बताए ।
‘पार्टी केन्द्रीय समितिले एकातिर अनिर्णयको बन्दी बन्नु हुँदैन भने अर्कोतिर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने हुनुहुँदैन । हामीले एकता, संवाद र सहमतिबाट निष्कर्षमा पुग्नुपर्दछ,’ नेता साउदले भने ।
नेता साउदले विशेष महाधिवेशन मागिरहेको समूहसँग वार्ता र संवादमा जानुपर्ने बताए । लामो समयदेखि पार्टीमा भेदभाव, विभाजन, मूल्याङ्कनको अभाव र अवसर प्रदान गर्दा न्याय र पारदर्शिताको कमीले त्यसको असन्तुष्टि विशेष अधिवेशन मागमा जोडिएर आएको उनले बताए ।
उनले भने, ‘केन्द्रीय समितिले आफ्ना कमीकमजोरी महसुस गरेर साथीहरूलाई पार्टीको अगाडि भएको बाध्यता र सीमित विकल्प रहेको बताउन हस्ताक्षरकर्ता पार्टीका युवा नेताहरूसँग वार्ता, संवाद र छलफल गर्न ढिला गर्नुहुन्न ।’
उनले अहिले देश र कांग्रेस पार्टी जटिल संकटमा रहेको बताएका छन् । साउदले भने, ‘राष्ट्रिय रूपमा जेनजी आन्दोलनले राष्ट्रिय सम्पत्ति र ईतिहाँसका गौरवहरू मात्र ध्वस्त गरेको छैन, नेपाली कांग्रेसका पार्टीका सभापति शेरबहादुर देउवा र उहाँको परिवारका साथै हाम्रा पार्टी कार्यालयहरू, कांग्रेसका राष्ट्रिय नेता हुन् या स्थानीय नेता हुन्, उनीहरूको सम्पत्तिमा आगो लगाएको छ ।’
नेता साउदले भने, ‘ठूलो विध्वंस गरिएको छ । अन्य पार्टीहरू पनि आक्रमणको चपेटामा परेका छन् ।’ संसद् विघटनदेखि कांग्रेस समेतको सहभागितामा बनेको सरकार ध्वस्त भएको पनि साउदले बताएका छन् ।
‘मुलुक अहिले पनि गम्भीर अस्थिरताको चक्रव्यूहमा छ । जेनजी आन्दोलनको प्रहार र प्रभावबाट पार्टीहरू अहिले पनि तङ्ग्रिन सकेका छैनन्,’ साउदले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया