सूर्यविनायकमा भदौ २३ र २४ को विध्वंशमा हाम्रो नेता, कार्यकर्ताको संलग्नता छैन : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेस, सूर्यविनायक नगर कार्यसमिति, भक्तपुरले भदौ २३ र २४ गतेको विध्वंशमा नगरभित्र रहेका कुनै पनि नेता कार्यकर्ता सहभागी नरहेको जनाएको छ ।

बिहीबार नगर कार्यसमितिका सचिवद्वय सुमन न्यौपाने र विश्वराम थापाद्वारा संयुक्त विज्ञप्तिमा कांग्रेसका कुनै पनि नेता तथा कार्यकर्ता विध्वंशको गतिविधिमा संलग्न नरहेको बताएका हुन् । उनीहरूले विध्वंशमा संलग्न रहेको भेटिएमा कारबाही हुने चेतावनी दिएका छन् ।

एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा स्टाटस लेखेर सूर्यविनायक नगरपालिकामा कांग्रेसका नेता, कार्यकर्ताहरू विध्वंशमा संलग्न रहेको भनेर गरिएको टिप्पणीप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का पोलिट ब्यूरो सदस्य श्री महेश बस्नेतको नाममा सामाजिक सज्जाल फेसबुकमा २०८२/७/२० गते आएको पोष्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘मिति २०८२ भाद्र २३ गते जेनजी समूहको नाममा भएको प्रदर्शनको क्रममा जनधनको क्षतिप्रति संवेदनशील हुँदै भाद्र २४ गते सामान्य प्रदर्शनको रुपमा लिई विभिन्न दल समूहका केही युवा पुस्ताहरूको सहभागिता भएको देखिन्छ तर, भक्तपुर सूर्यविनायक नगरपालिकाका कांग्रेस पार्टी आबद्ध साथीहरू कुनै पनि तोडफोड र विध्वंशमा लागेका छैनन्,’ कांग्रेसले भनेको छ ।

‘कदम कदाचित कहींकतै विध्वंश कार्यमा संलग्न भएको पाइएमा छानबिन गरी उपयुक्त कानूनी कारवाही गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं,’ सूर्यविनायक कांग्रेसले भनेको छ ।

‘अन्यथा नेपाली कांग्रेसका साथीहरू लक्षित गरी राजनीतिक आग्रह पूर्वाग्रह राखी निर्दोष कुनै पनि साथीहरूमाथि कपोकल्पित लान्छना लगाई आरोप लगाउने, तर्साउने, धम्काउने र नेपाली कांग्रेस आबद्ध पार्टीका साथीहरूको चरित्र हत्या गरी मनोबल गिराउने कार्यहरू क्षम्य हुन सक्दैन,’ कांग्रेसले भनेको छ ।

‘राजनीतिक दलमाथि ने सबैतिरबाट आक्रमण भइरहेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र एवं वर्तमान संविधान सम्बन्ध राजनीतिक दलका साथीहरू मित्रवत् प्रतिस्पर्धा र संयम हुन हार्दिक आग्रह गर्दे मित्रवत् व्यवहारमा सबै सचेत रहन हार्दिक अपील गर्दछौं,’ कांग्रेसले भनेको छ ।

‘नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमिति आपना निर्दोष साथीहरूमाथि गरिएको र गरिने सबै खाले आक्रमणको सामना गर्नेछ तर, त्यस्तो परिस्थिति सृजना नगर्न समेत सम्बन्धित सबैमा आग्रह गर्दछ,’ सूर्यविनायक कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

Published : Thursday, 2025 November 6, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया