मिलेर पहिला निर्वाचनमा भाग लिऔँ, विशेष महाधिवेशनको औचित्य छैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले फागुन २१ गतेको मध्यावधि निर्वाचनपछि १५औँ महाधिवेशन गर्न सुझाव दिएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनीहरूले विशेष महाधिवेशनको आवश्यक्ता नरहेको भन्दै नियमित महाधिवेशन गर्नुपर्ने बताए ।

विशेष महाधिवेशन गर्दा जेनजी पुस्ताको आन्दोलनको भावना विपरित हुने भन्दै नियमित महाधिवेशन गरेर युवा पुस्तालाई पनि वडादेखि केन्द्रसम्म सहभागी हुने वातावरण बनाउनुपर्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको नेताहरूले बताएका छन् ।

कांग्रेसले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मीनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई.मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के.सी., रुपा वि.क., धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले आ–आफ्नो धारणा व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यसमितिको बैठक कात्र्तिक २१ गते शुक्रबार बिहान ११ः३० बजे पार्टी कार्यालय, सानेपामा बस्नेछ ।

Published : Thursday, 2025 November 6, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया