साहलाई कल्याणपुरबाट पक्राउ, ब्यूरोले ल्यायो काठमाडौं

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीको टोलीले २२ वर्षीय जीवनकुमार साहलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा सिराहाको कल्याणपुर नगरपालिका–११ घर भएका साहलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

म्यासेञ्जरमा कुराकानी गर्ने क्रममा साहले पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लील तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुःख/हैरानी दिई चरित्रहत्या गरेको उजुरी परेको थियो ।

पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अपराधको कार्यमा संलग्न साहलाई सिराहाबाट पक्राउ गरेको जनाएको छ ।

साहविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2025 November 5, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया