भदौ २४ गते लुटेको पेस्तोल पड्काउने समिर र एलेक्स अपराधमा संलग्न, दुबै जना पक्राउ

काठमाडौं । भदौ २४ गते लुटिएको प्रहरीको पेस्तोल घर लगेर पड्काउने २३ वर्षीय समिर श्रेष्ठ र २३ वर्षीय एलेक्स नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट घर भई नयाँ बजार बस्दै आएका श्रेष्ठ र काभ्रे घर भई क्षेत्रपाटी बस्दै आएका नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये समिरविरुद्ध यसअघि पनि अभद्र व्यवहारको कसूरमा मुद्दा चलिसकेको पाइएको छ ।

कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, दुवै जनाले पेस्तोल लगेर पड्काएको पाइएको छ । समिरले नागर्जुन नगरपालिकामा रहेको घरको छतमा बसेर पेस्तोल पड्काएको भिडियोसमेत फेला परेको छ । दुवै जनाले सोधपुछका क्रममा पेस्तोल पड्काएको स्वीकारेको एसपी आचार्यले बताएका छन् ।

उनीहरूबाट ५४ क्यालिबरको पेस्तोल एउटा, खाली म्यागजिन र १२ राउन्ड गोलीसमेत बरामद भएको छ । शुरुमा इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास सिर्जना गरेको भन्दै सूचना आएपछि प्रहरी खटिएको थियो ।

उनीहरूको साथबाट हतियार मात्र बरामद भएन, जथाभावी पड्काउँदै हिँडेको भिडियोसमेत भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

Published : Wednesday, 2025 October 29, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया