राम गिरी तेक्वान्दो संघमा केन्द्रीय उपाध्यक्षमा मनाेनीत

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् ।

संघको चितवनको सौराहामा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् । वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक हासिल गरेका छन् ।

यसअघि गिरी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक थिए । उपाध्यक्ष गिरीले लामो समय तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई प्रशिक्षित गरेका थिए ।

उनले सञ्चालन गरेको तेक्वान्दो डोजाङबाट पाँच सयभन्दा धेरै ब्ल्याक बेल्ट उपाधि हसिल गरेका खेलाडी उत्पादन गरेका थिए । उपाध्यक्ष गिरीले प्रशिक्षित गरेका दोस्रो, तेस्रो, चौथो, पाचौँ डानसम्मका थुप्रै खेलाडी रहेका छन् । ‘मैले प्रशिक्षित गरेका तेक्वान्दो खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाउँदै तेक्वान्दो खेलको विकासमा अतुलनीय योगदान दिइरहेका छन्,’ ‘उपाध्यक्ष गिरी भन्छन्, ‘अब संघको नेतृत्व तहमा रहेर तेक्वान्दो खेल र समाजलाई खेलकुदको माध्यमबाट सामाजिकीकरण गरी देश विकासमा योगदान पुराउने छु ।’

उपाध्यक्ष गिरी आफ्नो खेल करिअरका अतिरिक्त व्यवसायिक र समाज सेवाका क्षेत्रमा सफल व्यक्तिका रूपमा चिरपरिचित छन् । तेक्वान्दो संघ तथा खेलाडीहरूका लागि उनले निरन्तर सहयोग उपलब्ध गराउँदै आइरहेका छन् ।

तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले अध्यक्षको भिजन र निर्देशनमा आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दो विशिष्ट पहिचान भएको बताउँदै यो खेलमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च बनाउन अथक परिश्रम गर्ने उपाध्यक्ष गिरीले बताएका छन् ।

Published : Monday, 2025 October 20, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया