महाधिवेशनको कार्यतालिका आएको छैन, वडादेखि नै नियमित महाधिवेशन गर्ने हो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एक महिनापछि हालको केन्द्रीय कार्यसमितिको समय समाप्त हुने भएको हुँदा नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता खतिवडाले महाधिवेशनसम्बन्धी कार्यतालिका कुनै पनि नआएको बताए । वडादेखि केन्द्रसम्म नियमित महाधिवेशनमा जानुपर्ने उनले बताएका छन् ।

‘विशेष महाधिवेशन ३ महिनाभित्र गर्नुपर्नेछ । अहिलेको केन्द्रीय सदस्य म रामहरि खतिवडाको, पार्टी सभापति शेरबहादुर देउवाको, कार्यबाहक सभापति पूर्णबहादुर खड्काको, महामन्त्रीहरूसहित सबैको अवधि एक महिना पछाडि जाँदैछ । मंसिर पछाडि । ३ महिनाभित्र गर्नुपर्छ भन्नेछ,’ खतिवडाले भने ।

‘एकातिर जेनजीका मागहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने । जेनजी पुस्तालाई महाधिवेशनमा सहभागी गराइएन र पुरानै महाधिवेशन प्रतिनिधिबाट फेरि महाधिवेशन गर्न लागियो भने हामी जेनजीका मागहरूलाई पनि सम्बोधन गर्न चुक्छौं,’ उनले भने, ‘कांग्रेसले अहिले सबैलाई समेटेर जानुपर्नेछ । पुरानो पुस्तालाई सम्मान गर्ने, नयाँ पुस्तालाई आकर्षित गर्ने बाटोमा जानुपर्ने बाध्यता भएकोले यसलाई विशेषभन्दा पनि रेगुलर महाधिवेशनमा जानुपर्छ ।’

केन्द्रीय सदस्य खतिवडाले भने, ‘विधानमा क्रियाशील दिएको ६ महिनासम्म चुनावमा भाग लिन दिने वा नदिने भन्ने कुराहरू छन् । क्रियाशील कति समयसम्म दिने ? यी बारमा पनि विधान संशोधन गर्नुपर्ने कुरा छन् । यसको प्रक्रिया लामो छ ।’

‘केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको कार्यतालिका केही आएन । विशेष महाविधेशनको बारेमा हो की ? रेगुलर महाविधेशन हो ? त्यसमा उल्लेख गरिएको छैन । विशेष भन्ने शब्द छैन । रेगुलर नभए विशेष महाधिवेशन गरौं भनेर एउटा पत्र दर्ता भएको छ । कार्यबाहक सभापतिले सुनाउनु भयो,’ खतिवडाले भने ।

‘कार्यबाहक सभापतिले वर्तमान अवस्थामा मुलुकलाई जहिले पनि कांग्रेसले नेतृत्व गरेको छ देशलाई संकट पर्दा अब पनि हाम्रो काँधमा जिम्मेवारी आएको छ । कांग्रेसले सबैको नेतृत्व लिने गरी काम गर्नुपर्नेछ,’ उनले भने ।

नेता खतिवडाले दलहरू निर्वाचनमा जान तयार रहँदा समेत सरकारले शान्ति सुरक्षासहित निर्वाचनको प्रत्याभूति दिन नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिलेसम्म सरकारको गतिविधि हेर्दा चुनाव गराउने परिस्थितिमा सरकार छैन । केही फटाहाहरू सरकारी अफिसमा गएर थर्काउने, तर्साउने, कानूनले नचिनेका मान्छेहरू, राज्य हातमा लिन र कानून हातमा लिएर सरकार चलाउने प्रवृत्ति लागेका छन् । सरकार चुप लागेको छ । हामी कानून साथमा लिएर मुलुक चलाउने पद्धतिमा विकास गर्ने पार्टीका मान्छे हौँ ।’

‘हाम्रो दुई वटा लडाइँ छ । चुनाव गराउन सरकार तयार भयो । आजसम्म सरकार चुनाव गराउन तयार भएको अनुभूति छैन । शान्ति सुरक्षाको अवस्था असाध्यै कमजोर छ,’ खतिवडाले भने, ‘कर्मचारीहरूको मनोवल गिरेको छ । सिंहदरबारमा कर्मचारीहरूले बस्ने ठाउँ पाउनु भएको छैन । निजामती कर्मचारीहरू मात्रै होइन प्रहरीको हालत पनि त्यस्तै छ । पहिला तिनीहरूको मनोबल उच्च बनाउने काममा समेत सरकार लागेको छैन ।’

‘पुलिसहरू कुटिएर मर्नु परेको छ । चौकीहरू छैनन् । बन्दुकहरू खोसिएका छन् । कानूनले नचिनेका मान्छेहरूका गतिविधिलाई सरकारले पहिला कन्ट्रोल गर्नुपर्छ । सरकार असंवैधानिक बाटोबाट बनेको छ । यसलाई संवैधानिक बनाउनुपर्छ भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ उनले भने ।

नेता खतिवडाले कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । ‘हस्ताक्षरको अभियानले कांग्रेस कमजोर भयो की भन्ने कुरा आएको छ । हस्ताक्षरले पार्टीलाई जागरुक बनाउने काम त ग¥यो, यसले गर्दा वडादेखि गाउँसम्म कांग्रेस विभाजित मनस्थिति नजाओस् भनेर केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ,’ खतिवडाले भने ।

सरकारले विभिन्न फाइल खोलेर नेताहरूलाई जेल हाल्न लागेको भनेर आइरहेका अभिव्यक्तिका सम्बन्धमा नेता खतिवडाले भने, ‘हामीलाई कुनै पनि फाइलको चिन्ता छैन । सरकारलाई जुन जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

Published : Thursday, 2025 October 16, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया