विशेष महाधिवेशन हुँदैन, कांग्रेसको नियमित नै गर्छौं : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने भन्दै विशेष महाधिवेशनको माग खारेज गरिदिएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले विशेष महाधिवेशन नहुने बताए । उनले १५औँ महाधिवेशन हुने बताए ।

उनले भने, ‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५औं महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुंग्याउने लगायतका विषय सागसँगै गर्नुपर्नेछ । यिनै विषयमा केन्द्रित रहेर छलफल हुन्छ ।’

अहिले कार्यसमितिको पदावधि नै सकिइसकेको अवस्थामा विशेष महाधिवेशन नहुने प्रवक्ता डा.महतले बताएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा मंगलबार राखेका भनाइहरूलाई मध्यनजर गरेर बैठकमा छलफल गर्ने डा.महतले बताएका छन् । उनले भने, ‘सभापतिले पनि केही महत्वपूर्ण कुरा राख्नुभएको छ । त्यसलाई पनि मध्यनजर गरेर छलफल गर्छौं ।’

‘महाधिवेशनको सन्दर्भमा मंसिर २१ गते चार वर्ष हुन्छ । यो अवस्थामा हामीले अधिवेशन कहिलेसम्म गर्न सक्छौं । हामी ज्यादा समय लिँदैनौं,’ डा.महतले भने, ‘निर्वाचनलाई पनि अधिवेशनको कारणले प्रतिकूल असर परोस् भन्ने हामी चाहँदैनौं । सम्पूर्ण विधि प्रक्रिया पनि पूरा गर्नुपर्नेछ ।’

Published : Thursday, 2025 October 16, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया