लुम्बिनीको विकासमा विज्ञहरूको साथ चाहिन्छ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरूको साथ सधै चाहिने बताएका छन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरूको उपस्थितिमा बुधबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीबारे गलत बुझाई नराख्न आग्रह गरेका हुन् ।

डा.लामाले विश्वभर शान्ति फैलाउने बुद्धजन्मस्थलमा यूनेस्कोको ४६ औं बैठकमा विश्वसम्पदा सूचीबाट खतराको सूचीमा राख्ने एजेण्डाले स्तब्ध भएको बताए । उनले द्वन्द्वग्रस्त देशका सम्पदास्थललाई भन्दा शान्तिभूमि रहेको लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव नै आश्चर्यजनक रहेको बताए ।

विश्वभरका सम्पदा र संस्कृति विज्ञहरू रहेको सम्मेलनमा उपाध्यक्ष डा.लामाले पेरिसमा भएको ४७ औं यूनेस्को बैठकमा इकोसमकै सिफारिस अनुसार कपिलवस्तुको तिलौराकोट सम्पदा सूचीमा पर्ने विश्वास गरेकोमा आफूहरूले धोका पाएको बताए । उनले गौतमबुद्धका ८४ हजार शिक्षा नै शान्ति र प्राणी कल्याणका लागि रहेको बताए ।

प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्र बिन्दुुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन शुरु भएको हो । सम्मेलनको बुधबार लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरेका हुन् ।

यसअघि अक्टोबर ११ देखि शुरु भएको इकोमसको वार्षिकसभाको समापन तथा वर्षगाठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो ।

यूनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ ।

कार्यक्रमको लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाइन लगायतले साझेदारी गरेका छन् ।

Published : Wednesday, 2025 October 15, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया