देशभरिका युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भयो : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने तर, फेसबुकबाट कसैले भन्दैमा नछाड्ने बताएका छन् ।
बुधबार ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले फेसबुकमा कसैले भन्दैमा नछाड्ने बताए । उनले भने, ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एक मिनेट पनि बस्दिनँ, यो कमिटी भन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन ।’
ओलीले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिएका छन् । उनले केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तोक्ने भन्दै आफू व्यक्तिगत इच्छाले नहिँडेको बताए ।
‘यो देशको इच्छाको पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ, यी कुराहरूमा सबै स्पष्ट हुनुस् । हट्ने आफ्नै प्रक्रिया हुन्छ,’ ओलीले भने, ‘विरोधीहरूले घर र पार्टी कार्यालय विरोधीले आगो लगाएका हुन् । हामीले कुनै नराम्रो व्यवहार गरेका छैनौँ । हामीसँग भिजन छ, काम गर्ने सक्रियता छ ।’
अध्यक्ष ओलीले देशभरिको युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको बताएका छन् ।
ओली लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको उनले बताएका छन् ।
उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नुहुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’
‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौँ भन्ने थियो,’ ओलीले भने, ‘ठूलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपथ्र्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन् ।’
यसैबीच, एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । महाधिवेशन ओलीले पोखरामा गर्नेगरी प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ ।
एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया