कांग्रेस नेता विमलेन्द्र निधिकी दिदी राधादेवी कर्णको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकी दिदी राधादेवी कर्णको निधन भएको छ ।
राधादेवी कर्णको २०८२ असोज २४ गते शुक्रबार निधन भएको कांग्रेसले जनाएको छ । कांग्रेसले राधादेवीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ ।
राधादेवी कर्ण नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री स्व.महेन्द्र नारायण निधि र स्व. प्रेमसागरी निधिकी जेठी सन्तान हुन् । राधादेवी कर्णको जन्म वि.सं. २००१ मा धनुषा जिल्लाको नगराईनस्थित निधि निवासमा भएको थियो ।
‘स्व. पिता महेन्द्र नारायण निधि स्वतन्त्रताको लडाइँमा अग्रपंक्तिमा रहेर प्रायः जसो जेल जीवन बिताउनु भएको हुँदा, राधादेवी कर्णको बाल्यकाल संघर्षपूर्ण रह्यो,’ कांग्रेसद्वारा शनिबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘वि.सं. २०१५ को आम निर्वाचनमा उहाँले आफ्नो पिताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।’
वि.सं. २०१६ सालमा उनको विवाह सिरहा निवासी स्व. चन्द्रभुवनलाल कर्णसँग भएको थियो । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गर्दाको बखत नेता महेन्द्रनारायण निधि उपसभामुख रहेका थिए ।
पार्टीका नेताहरुलाई तत्कालीन सरकारले समातेर जेलमा राख्दै गर्दा महेन्द्रनारायण निधिलाई भने परिवारको साथ गृहनगर पठाएर मात्र जनपुरको हवाइ–अड्डाबाटै गिरफ्तार गरेको थियो ।
वि.सं. २०४६ सालको जनआन्दोलनमा पिता महेन्द्रनारायण निधि जलेश्वरको जेलमा र कान्छो भाई विमलेन्द्र निधि भूमिगत रही, आन्दोलन संचालन गर्दै गर्दा पनि उनी जनकपुरको मिल्स एरिया माइतीघरमा आमासँग रहँदै आन्दोलनको क्रममा जुलुसमा पनि आमा प्रेमसागरी निधिसँगै राधादेवीको सहभागिता रहने गरेको थियो ।
राधादेवी कर्णको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले राधादेवीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया