सिंहदरबार, सर्वोच्च अदालत बचाएन भन्ने आरोपहरूप्रति सेनाको गम्भीर ध्यानाकर्षण
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायतका राष्ट्रिय र सामरिक महत्वका संरचनाको रक्षा गर्न नसकेको भनेर आलोचना भइरहेका बेला नेपाली सेनाले आफ्ना गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग जोडेर भएको आलोचना तथा टिकाटिप्पणीप्रति आक्रोश पोखेको हो ।
‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ,’ सेनाले भनेको छ ।
गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति सेनाले आभार व्यक्त गरेको जनाएको छ ।
‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ,’ सेनाले भनेको छ ।
‘तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायतलाई नबचाएको भनेर आलोचना हुँदै आएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया