भदौं २३ गते निकै ठूलो दुखद् घटना भएपछि पीडाले गृहमन्त्रीबाट राजीनामा दिएँ : रमेश लेखक
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा निकै ठूलो र दुखद् घटना भएको भएको भन्दै आफूलाई पीडा भएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै जेनजी आन्दोलनको पहिलो दिनको घटनामै आफूलाई ठूलो पीडा भएकाले तत्कालै राजीनामा दिएको बताए ।
उनले भने, ‘भदौ २३ र २४ गते जेनजी पुस्ताले राखेका माग समग्र नेपाली जनताकै माग, चाहना, आवश्यकता थिए । उहाँहरूले गरेको प्रदर्शनमा दुर्भाग्य बस घुसपैठ भयो र निकै दुखदायी घटना भए ।’
‘सबैभन्दा पहिला म दुवै दिनका घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु,’ तत्कालीन गृहमन्त्री लेखकले भने, ‘शोक सन्तप्त परिवारहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
पूर्वगृहमन्त्री लेखकले ती घटना अत्यन्त दुखदायी र पीडादायी रहेको बताए । उनले भने, ‘मैले २३ गतेको दिनमा त्यस्तो घटना भइसकेपछि त्यसै दिन तत्काल नै तत्कालीन गृहमन्त्रीको पदबाट मैले राजीनामा पनि गरिसकेको थिएँ । त्यसपछि २४ गतेका दिन पनि अत्यन्त दुखदायी र पीडादायी घटनाहरू भए ।’
अहिले आफू र तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध त्यो घटनामा बल प्रयोग गर्न दबाब दिएको गलत आरोप लागिरहेको पनि लेखकले बताएका छन् । ‘यी विषयहरूमा सम्माननीय प्रधानमन्त्री जो सुकै भए पनि गृहमन्त्रीले आदेश गर्ने यी विषय होइनन्,’ लेखकले भने, ‘त्यस्तो खालको कुनै बल प्रयोग गर्ने आदेश गरिएको छैन, भनिएको छैन ।’
लेखकले भदौ २३ गतेको घटना धेरै दुखद् भएकै कारण आफूलाई गहिरो पीडा भएकैले तत्काल मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया