भारतले अफगानिस्तानमा राजदूतावास पुनर्स्थापना गर्ने, मुताकीद्वारा डा.जयशंकरसँग भेट

नयाँ दिल्ली । भारतले अफगानिस्तानसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्दै राजदूतावास खोल्ने घोषणा गरेको छ ।

तालिबान शासित अफगानिस्तानसँगको सम्बन्धमा यो महत्वपूर्ण कदम हो । भारतले काबुलस्थित आफ्नो नियोगलाई पूर्ण दूतावासको दर्जा दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रवार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसँग अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुताकीले भारतीय राजदूतावास खोल्न आग्रह गरेका थिए । मुताकी तालिबान सरकारबाट दिल्ली भ्रमण गर्ने पहिलो अफगानी विदेशमन्त्री हुन् । उनले भारतीय विदेशमन्त्री डा.एस. जयशंकरसँग काबुलमा दूतावास खोल्ने विषयमा छलफल गरेका हुन् ।

डा.एस.जयशंकरले भने, ‘भारतले सधैँ अफगानिस्तानलाई समर्थन गरेको छ । अफगानहरू हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । हालै, आतंकवादविरुद्धको लडाइँमा अफगानहरूले हामीलाई समर्थन गरेका छन् ।’

चार वर्षअघि तालिबान र तत्कालीन अफगान सरकारबिचको द्वन्द्वका कारण काबुलस्थित दूतावासको स्तर घटाइएको थियो । साना सहरका वाणिज्य दूतावास बन्द गरिएका थिए ।

भारतीय विदेशमन्त्री डा.एस.जयशंकरले मुताकीलाई काबुलस्थित प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने जानकारी दिएका छन् ।

हिंसाका कारण भारतले आफ्ना कर्मचारी फिर्ता ल्याउन सैन्य विमान प्रयोग गरेको थियो । एक महिनापछि भारतले काबुलमा कूटनीतिक उपस्थिति पुनः सुरु गरेको थियो । तालिबानले भारतीय अधिकारीहरूलाई काबुल फिर्ता भएमा पर्याप्त सुरक्षा दिने बताएका छन् ।

Published : Friday, 2025 October 10, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया