दुर्घटनामा गम्भीर घाइते दाङ कांग्रेसका नेता बस्नेतको स्वास्थ्यमा सुधार, मन्त्री राणा र सभापति पाण्डेद्वारा भेट
काठमाडौं । सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेस, दाङका नेता जानकीलाल बस्नेतको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
दशैंको टीकाभन्दा अगाडि देउखुरीको लमही बजार नजिकै रातोमाटा डाँडामा दुर्घटनामा परेका बस्नेतको ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ । नेता बस्नेतलाई लुम्बिनी प्रदेशका शाहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेसहितका नेता, कार्यकर्ताहरूले भेट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
क्षेत्रीय सभापति पाण्डेका अनुसार नेता बस्नेतको स्वास्थ्यमा क्रमिक सुधार भएको र दुई दिन अगाडि मात्रै आईसियुबाट सामान्य बेडमा सारिएको छ । पाण्डेले भने, ‘नेता जानकीलाल बस्नेतज्यूको स्वास्थ्यमा सुधार भइरहेको छ । चिकित्सकहरूले अझै केही दिन अस्पतालमा बसेर उपचार गराउन भनेका छन् ।’ नेपालगञ्जमा उपचार हुन नसकेपछि नेता बस्नेतलाई मेडीसिटी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
लमहीमा मोटरसाइकलमा सवार नेता बस्नेतलाई विपरित दिशाबाट अनियन्त्रित रुपमा आएको अर्को मोटरसाइकल ठोक्किएको थियो । त्यस क्रममा नेता बस्नेत र कांग्रेसका अर्का नेता घनश्याम सुवेदी घाइते भएका थिए । नेता बस्नेतको करङको हड्डीमा गम्भीर चोट लागेको चिकित्सकहरूलाई उदृत गर्दै सभापति पाण्डेले बताए ।
कांग्रेस नेता सुवेदीको भैरहवामा उपचार भएको छ । उनको स्वास्थ्य अवस्था खरामुक्त रहेको क्षेत्रीय सभापति पाण्डेले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया