कांग्रेस नेता भण्डारीद्वारा राष्ट्रिय एकता र मेलमिलापका लागि आह्वान, देशका लागि स्वार्थभन्दा माथि उठ्न आग्रह

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटना क्रमपछिको उत्पन्न त्रास कायम रहेका बेला नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले राष्ट्रिय एकता र मेलमिलापका लागि आह्वान गरेका छन् ।

बिहीबार कांग्रेस नेता भण्डारीले अपील जारी गरेर मेलमिलापका लागि आह्वान गरेका हुन् । उनले भदौ २३ र २४ गते घटेका घटनाका र त्यसपछि उत्पन्न परिस्थितिका कारण मुलुक इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन् ।

युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउने मनसायका साथ आयोजना गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनको मौका छोपेर मुलुक विरोधी तत्वले देशमा वितन्डा मच्चाउन पुगेको उनले बताए ।

‘भदौ २४ गते जेनजीको शान्तिपूर्ण विद्रोहको आवरणमा अराष्ट्रिय तत्वले मुलुकमा विध्वंश मच्चायो,’ भण्डारीले भने, ‘मुलुक पूर्ण रुपमा राज्यविहीन बन्न पुग्यो, एक प्रकारले ठूलो युद्ध हार्दाको जस्तो दृश्य मुलुकमा देखिन पुग्यो । यी दुवै घटनाको जति निन्दा गरे पनि कम नै हुन्छ ।’

‘मुलुकमा थुप्रै विसंगति विकृति फैलदै गएका थिए, राजनीतिक दलमा लोकतान्त्रिक मूल्य पद्धति र संस्कृतिमा चरम स्खलन आएको थियो । भ्रष्टाचार र कुशासनले सीमा नाघेको थियो,’ उनले भने, ‘लामो समयदेखि पटक पटक सत्तामा बस्ने मानिसहरूका विरुद्धमा जनस्तरमा व्यापक असन्तुष्टि, विरोध र घृणा अभिव्यक्त भएका थिए त्यसलाई सत्ताको उन्मादमा नजरअन्दाज गरियो । त्यसको परिणती यो अवस्थामा देशले भोग्नु पर्‍यो ।’

‘मुलुकमा विद्यमान विसंगति र विकृतिलाई सुधार गरी मुलुकलाई ठीक ठाउँमा ल्याउनका लागि जेनजीहरूले थालेको अभियानलाई हतियार बनाएर मुलुकमा उपद्रप मच्चाउने काम विभिन्न तत्वबाट हुन पुग्यो,’ भण्डारीले भने, ‘विश्वकै पुरानो मध्येको कहिल्यै पराधिन नभएको मुलुकमा अहिलेका घटनाक्रमले निकै जोखिम, संशय र त्रासदीको वातावरण सिर्जना गरेको छ ।’

पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले भने, ‘म जस्ता राष्ट्रप्रेमीलाई मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा प्रश्न सिर्जना भएको विषय सहन गर्न निकै कठिन हुनु स्वभाविक नै हो । केही व्यक्तिको लहैलहैमा लागेर नेपालले आफ्नो मौलिक धर्म, संस्कृति र परम्परालाई लत्याउदै गर्दा त्यसको चर्कोमूल्य प्रत्येक नेपालीले चुकाउनु पर्नेछ भनेर मैले पटक पटक भन्दै आएको थिएँ । तर, त्यसलाई वेवास्ता गरियो । नभन्दै सोँचे भन्दा खतरनाक दुर्दिन नेपालमा आयो । अझ पीडादायक क्षण देख्न बाँकी नै छभन्ने अनुमान विभिन्न कोणबाट हुँदै आएको छ ।’

‘मातृभूमिको पुकारलाई अनदेखा गर्दा यो अवस्था सिर्जना भयो । आज मुलुक शोकमा छ, प्रत्येक सचेत नागरिक गहिरो चिन्तामा छन्, राष्ट्रभक्तहरू कैयन दिनदेखि निदाएका छैनन्, आम नेपालीले असुरक्षित महसुस गरेको अवस्था छ, व्यक्तिगत सम्पत्ति लुटिएका छन्, व्यवसायिक प्रतिष्ठान ध्वस्त पारिएको छ, निजी लगानीकर्ता स्तब्ध छन्, सुरक्षा निकाय आफै असुरक्षित भएका छन्,’ उनले भने ।

‘यस्तो भयानक कालखण्ड देख्न नपरोस् भनेर म जस्ता कैयन साथीहरूले वर्षौदेखि हरेक मुलुकका आ आफ्नो विशिष्टता हुन्छ, राष्ट्रियतालाई त्यही मौलिक विशिष्टताले अड्याएको हुन्छ भन्ने तथ्य राख्दै आएका थियौं,’ उनले भने, ‘राज्यका आधारभूत मान्यताहरुमा हमला नगरौं भनेर विगतदेखि उठाउँदै आएका आवाजलाई अपहेलना गर्दा आज यो अवस्था भोग्नु पर्‍यो । अझ पनि सच्चिने वा सकिने भन्ने अहम् प्रश्न बाँकी नै छ ।’

‘देशको अस्तित्व अभिव्यक्त गर्ने विभिन्न संस्था तथा संगठनहरु हुन्छन । त्यस्ता संस्थाहरूलाई पनि कमजोर पार्ने, विवादमा तान्ने, विघटनतर्फ लैजाने खेलहरू देशमा सुरू भएका छन्,’ उनले भने, ‘नेपाली सेना, न्यायलय जस्ता विशिष्ट इतिहास बोकेका निकायमाथि पनि अस्वभाविक प्रश्नहरू सिर्जना गर्न खोजिएको छ । यी संस्थालाई कमजोर बनाएर मुलुकलाई विघटन तर्फ लैजान एउटा समूह उद्धत छ । यसमा हामी समयमै सचेत हुनु आवश्यक छ ।’

उनले भने, ‘जसरी हाम्रा पुर्खाबाट हामीलाई सुरक्षित र गौरवपूर्ण ईतिहाँस बोकेको नेपाल हस्तान्तरण भएको थियो त्यसरी नै हामीले हाम्रा भावी पुस्तालाई सुरक्षित नेपाल हस्तान्तरण गर्नु छ । यस तथ्यलाई आत्मसात गर्दै देशको अस्तित्वको विम्वको रुपमा रहेका यस्ता संस्थाहरूमाथि हुन खोजेको आक्रमणलाई समयमा नै रोक्नु जरुरी छ ।’

‘देशद्रोहीहरूले हाम्रा राष्ट्रिय महत्वका संस्थाहरुलाई एक एक गरेर सिध्याउने योजना बनाएको षडयन्त्रलाई समयमा नै चिर्नु जरुरी छ । राष्ट्रप्रेमले ओतप्रोत र प्रजातान्त्रिक मूल्य पद्धतिलाई सिरोपर गर्दै मुलुकको सुधारका लागि विद्रोहमा होमिएका जेनजी भाई बहिनीहरू देश र जनताप्रति हुन खोजेको यो षडयन्त्रलाई परास्त गर्नका लागि निकै सुझवुझका साथ अगाडि बढ्नु होला भन्ने विश्वास लिएको छु,’ नेता भण्डारीले भने ।

‘मुलुक भू–राजनीतिक द्वन्द्वमा फस्ने, मुलुकमा रक्तपात हुने, एक नेपालीले अर्को नेपालीका विरुद्धमा युद्ध छोड्ने अवस्था सिर्जना गर्न विभिन्न पात्रहरू नाटकीय रुपमा फरक फरक आवरणमा देखा पर्दैछन्,’ उनले भने, ‘पार्टीभित्र पनि अनेक स्वरुपमा त्यस्ता व्यक्तिहरूले आफ्नो पकड जमाउँदै लगेका छन् । मुलुकको यस्तो दुरुह अवस्थामा विशेषत मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र)ले परिस्थितिको सुक्ष्म विश्लेषण गरेर दलीय स्वार्थभन्दा माथि राष्ट्रिय स्वार्थलाई शिरोपर गर्दै एकजुट भएर मुलुकलाई बचाउने प्रण लिनु जरुरी छ ।’

‘मुलुक रहे न हामी सबै रहने हो । हामीले विगतदेखि गर्दै आएका गल्ती कमजोरीको परिणति हो यो भन्ने तथ्यलाई स्वीकार्दै विगतका त्रुटि सच्याउनु आवश्यक छ । सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर नेपालको अस्तित्वलाई मजवुद बनाउनु छ । नेपाल सनातन हिन्दु राज्य हो, त्यो नै नेपालको मौलिक पहिचान हो, राष्ट्रियताको आधार हो । त्यसको पुनःस्थापनामा अब ढिलाई गर्न हुँदैन,’ उनले भने ।

‘नेपालको भू–राजनीतिक जटिलता, बदलिंदो विश्व परिवेश विश्लेषण गर्दा राजनीतिक दलको प्रभावभन्दा माथिको दर्विलो, राष्ट्रभक्त र सर्वस्वीकृत नेतृत्व आवश्यक छभन्ने विषयमा अब कुनै विमति रहेनन्,’ उनले भने, ‘राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको एक बलियो मियो हामीले गम्भिरतापूर्वक नलिई त्यसै ढाल्यौँ, फराकिलो ह्रदय बनाएर अब त्यो गल्तीलाई हामीले सच्याउन सक्नु पर्दछ ।’

उनले भने, ‘देश र जनताको वृहत्तर हितका लागि राष्ट्रवादी शक्तिहरू एकठाउँमा उभिन जरुरी छ । २०४७ सालको संविधानका मूल प्रावधानलाई यथावत राख्दै यसमा समसामयिक संशोधन गरी राष्ट्रिय एकताको जगलाई थप मजवुद बनाउन सबै राजनीतिक दल तथा राष्ट्रप्रेमी दाजुभाई दिदी बहिनीहरूमा आह्वान गर्दछु ।’

Published : Thursday, 2025 October 9, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया