इक्वेडरका राष्ट्रपति डेनियल नोबोआमाथि ढुङ्गामुडा प्रहार

क्विटो । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ आफ्नो मोटरकाडमाथि ढुङ्गामुडा प्रहार भएको छ । उनलाई गोली पनि प्रहार गरेको आशंका गरिएको छ ।

भिडको आक्रमणबाट बचेर उनी सुरक्षित स्थानमा पुगेका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शनकारीहरूले मङ्गलबार उनको सवारीमाथि आक्रमण गरेका थिए ।

राष्ट्रपति नोबोआ मध्य इक्वेडरमा पानी प्रशोधन संयन्त्रको उद्घाटन कार्यक्रममा सहभागी भएको बेला करिब पाँच सय प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ढुङ्गा प्रहार गरेका हुन् ।

वातावरणमन्त्री इनेस मन्जानोका अनुसार राष्ट्रपतिको गाडीमा गोलीका निशानहरू भेटिएका छन् । उनले पाँच जनालाई पक्राउ गरिएको र तिनीहरूलाई आतङ्कवादको मुद्दामा कारबाही हुने बताए । यस्तो कारबाही भएमा प्रदर्शनकारीहरूलाई ३० वर्षसम्म जेल सजाय हुनसक्छ ।

आक्रमण डिजेलको मूल्यवृद्धिविरुद्ध बढ्दै गएको आन्दोलनका बीच भएको छ । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै १६ जना सैनिकलाई अपहरण गरेका थिए । उनीहरूलाई पछि सकुशल रिहा गरिएको छ ।

Published : Wednesday, 2025 October 8, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया