विदेशी जासुसभन्दै बालेन र सुदनविरुद्ध प्रहरीमा जाहेरी, हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । हामी नेपाल नामक संस्था (एनजीओ)का संस्थापक सुदन गुरुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ‘बालेन्द्र’लाई पक्राउ गरेर कारबाही गर्न मागसहित प्रहरीमा जाहेरी परेको छ ।

मंगलबार अनेरास्ववियुले भदौ २४ गते सार्वजनिक सम्पत्ति आगजनी लगायतका आपराधिक गतिविधि गर्न उक्साएको भन्दै बालेन र सुदनविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । एमाले निकट अनेरास्ववियुले बालेन र सुदनहरूले राज्यविरूद्ध जासुसी गरेको आरोप लगाइएको छ ।

उजुरी दर्ता गर्न प्रहरीले २४ घण्टाको समय मागेको अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडालले बताएका छन् । अनेरास्ववियुका महासचिव दीपक धामीका नाममा दिइएको उक्त उजुरीमा मेयर शाह र गुरूङविरूद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५६ मा उल्लिखित राज्यविरूद्ध जासुसीको आरोप पनि लगाइएको छ ।

उनीहरूले दफा ५६ बमोजिम राज्यका महत्वपूर्ण तथ्याङ्क, गोप्य राख्नुपर्ने विषय माग गरी जासुसी गरेको उल्लेख छ । उजुरीमा उल्लिखित अरू विषयमा जाँचबुझ आयोगमार्फत छानबिन गरिए पनि राज्यविरूद्ध जासुसी गरेको विषयमा प्रहरीबाटै अनुसन्धान होस् भनेर अनेरास्ववियुले माग गरेको छ ।

जाहेरीमा मेयर बालेन र हामी नेपालका संस्थापकका सुदनविरूद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७७, दफा १७८, दफा २४४, दफा २८५ (२) को उपदफा (क) प्रतिकूल हुने गरी कार्य गरेको आरोप पनि लगाइएको पूर्वअध्यक्ष बडालले जानकारी दिएका छन् ।

दफा १७७ ज्यानसम्बन्धी कसूर हो भने दफा १७८ मा ज्यान जान सक्ने गरी उक्साउन नहुने उल्लेख छ । मेयर बालेन र सुदनकै उक्साहटमा प्रहरीको ज्यान जाने अपराध भएको आरोप अनेरास्ववियुका निवेदकहरूले लगाएका छन् ।

उनीहरूले दफा २४४ बमोजिम पनि कारबाही माग गरेका छन् । उक्त दफा चोरी–डकैतीसँग जोडिएको छ । बालेन र सुदनकै उक्साहटमा निजी तथा सार्वजनिक सम्पत्तिमा लुटपाट भएको अनेरास्ववियुको आरोप छ ।

दफा २८५ को उपदफा (२) अनुसार पनि कारबाही माग गरिएको छ । उक्त उपदफाअनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा रहेका संस्थामा हानिनोक्सानी पुर्‍याएको, आगजनी, तोडफोड गर्न उक्साएको लगायत आरोप लगाइएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको थियो ।

Published : Wednesday, 2025 October 8, 8:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया