सभापति देउवाले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरियो, डिमोरलाइज गर्न खोजियो : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार भेटघाटमा डा.महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका हुन् । उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै डिमोरलाइज गर्न खोजिने तर, सभापति देउवा त्यतिबेला पनि डिमोरलाइज नभएको बताए ।

‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन,’ डा.महतले भने, ‘सांघातिक रुपमा हमला हुने देख्दा देख्दै पनि घर छोड्नुभएन भने देश छोड्नुपर्ने कुनै कारण छैन ।’

कांग्रेस प्रवक्ता डा.महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताएका छन् । उनले भने, ‘पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ ।’

डा.महतले कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताए ।

‘अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ,’ डा.महतले भने, ‘अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन ।’

डा.महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् । उनले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताएका हुन् ।

‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौं । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौं,’ उनले भने ।

डा.महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरू निर्माण भएको बताए ।

Published : Sunday, 2025 September 28, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया