रानीपोखरीद्वारा काठमाडौं उपत्यकाभित्र ६ हजारभन्दा धेरै प्रहरी परिचालन गरिने
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले चाडपर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअनुसार छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिन लागेको बताए ।
कार्कीले भने, ‘दशैँ, तिहार तथा छठ पर्वहरूमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू बढी हुने भएकाले सोहीअनुसारको रणनीति बनाएर काम सुरु गरिएको छ । जिल्ला प्रमुखहरूको कमान्डमा प्रहरी परिचालन हुनेछन् ।’
अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरीको पट्रोल टोलीसहितको गस्ती, साइकलगस्ती, नाकाहरूमा ‘डग स्निफिङ’, सादा पोसाकका प्रहरी परिचालन, ‘सिआरभी’, ‘क्युआरटी’लाई तयारी अवस्थामा राखेर काम सुरु गरिएको एआईजी कार्कीले बताए ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ७८ स्थानमा यात्रु सहायताकक्ष स्थापना गरी काम सुरु गरिएको र ‘ड्रोन’बाट समेत निगरानीको काम हुने भएकाले निर्धक्क र चनाखो भएर दशैँ, तिहारलगायत चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा कारागारमा रहेका केही कैदीबन्दी पनि फरार रहेकाले यस वर्ष चोरी, लुटपाटलगायत घटना हुनसक्ने भएकाले टोल, छिमेकमा नयाँ व्यक्ति अथवा फरार रहेका व्यक्ति देखिएको खण्डमा प्रहरीलाई खबर गर्न प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।
सम्भावित अपराध रोक्न तथा न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका १८ वटै प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली बनाइएको र कुनै पनि घटना भएमा कम्तीमा तत्काल घटनास्थलमा पुग्नेगरी व्यवस्था मिलाइएको एआइजी कार्कीले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया