महेश बस्नेतले भने– बालेन अन्तर्राष्ट्रिय एजेन्ट, जेनजीलाई अपराधिक र आतंकवादी बनाउन दिँदैनौं

काठमाडौं । एमालेका नेता महेश बस्नेतले संविधान जलाउने कुरा आफ्नो पार्टीले सफल हुन नदिने बताएका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बस्नेतले भने, ‘सावधान, नेकपा (एमाले) छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं ।’

एमालेका पोलिट ब्यूरो सदस्य बस्नेतले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को खेल सफल हुन नदिने बताएका छन् । उनले भने, ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं ।’

‘हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्डमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

प्रधानमन्त्रीबाट अध्यक्ष केपी ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै बस्नेतले देशलाई एम्बुसमा पार्न खोजिएको बताएका छन् ।

नेता बस्नेतले भने, ‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ ।’

बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

Published : Saturday, 2025 September 27, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया