उद्योगमन्त्री सिन्हा र भारतीय राजदूत श्रीवास्तवीच भेट, भारतले गरेको सहयोगप्रति आभार प्रकट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री सिन्हा र राजदूत श्रीवास्तवबीच भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको हो ।

मन्त्री सिन्हाले आफूहरू विशेष परिस्थितिमा सरकारमा सहभागी भएको बताए । उनले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु मुख्य दायित्व रहेको बताएका छन् ।

विषम परिस्थितिमा आपूर्ति श्रृंखला सुचारु राख्न भारतले गरेको सहयोगप्रति मन्त्री सिन्हाले राजदूत श्रीवास्तवसँग आभार प्रकट गरेका छन् । उनले भारतबाट हुँदै आएको सहयोगको निरन्तरताको समेत अपेक्षा गरेका छन् ।

उद्योगमन्त्री सिन्हाले पछिल्लो समय नेपाल भारतबीच बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न व्यापार सहजीकरण, प्रक्रियागत सरलीकरण, भारतीय लगानी विस्तार र उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको संस्थागत क्षमता विकासमा सहयोग गर्न जोड दिएका छन् ।

नेपालबाट भारतमा हुने निर्यातका वस्तुमा लगाइएको बीआरएस प्रमाणीकरण प्रक्रियालाई थप सहज र सरल बनाउन, स्टीलजन्य वस्तुहरूको निर्यातमा पूर्ववत् सहजीकरण गर्न तथा सेफगार्ड शुल्क नलगाउन, जटजन्य बस्तुहरुको निर्यातमा एन्टी डम्पिङ शुल्क नलगाउने विषयमा सहजीकरण गर्न मन्त्री सिन्हाले राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् ।

भेटका क्रममा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उद्योगमन्त्री सिन्हालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Published : Saturday, 2025 September 27, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया