जेनजी आन्दोलनमा क्षति भएपछि बागमती सरकारले प्रहरीलाई ८५ मोटरसाइकल निःशुल्क दिने

काठमाडौं । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री तथा बागमती सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार करिब ३ करोड रुपियाँ बराबरका मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय भएको हो । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल प्रहरीलाई मोटर साइकल निःशुल्क उपलब्ध गराउन प्रस्ताव राखेका थिए । जनताको शान्ति सुरक्षाका लागि प्रहरीलाई सहयोग गर्नुपर्ने बानियाँले बताए ।

प्रदेश सरकारले इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरीका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी ८५ मोटरसाइकल उपलब्ध गराउने तयारी गरेको छ ।

चाडपर्वमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल दिने निर्णय गरिएको मन्त्री तामाङले बताएका छन् ।

मापदण्डअनुसार अधिकतम १६० सीसी क्षमताको र ३ लाख ५० हजार रुपियाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था छ ।

Published : Saturday, 2025 September 27, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया