७० मेगावाट दुधकोशी होइड्रोपावरमा लगानी सम्झौता
काठमाडौं । लक्ष्मी सनराईज बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने समझौता भएको छ ।
असोज ७ गते भएको समझौताअनुसार सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने यो अर्धजलासय आयोजनाको कुल लागत करीब १५ अर्ब रुपियाँ रहनेछ ।
सहवित्तीयकरणमार्फत परियोजना लागतको ७० प्रतिशत लगानी सहभागी बैंकहरूले गर्नेछन् । बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवर्द्धकले जुटाउने भएका छन् ।
सहवित्तीयकरणमा लक्ष्मी सनराईज बैंक नेतृत्वकर्ताका रूपमा, एभरेष्ट बैंक सह–अगुवा बैंकका रूपमा र सानिमा बैंक सदस्य बैंकका रूपमा सहभागी भएका छन् । कूल परियोजना वित्तीयकरण १० अर्ब ५० करोड रुपियाँ रहने अनुमान छ ।
दुधकोशी–२ आयोजनाले २०७७ साल असोज ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यसपछि २०७८ मंसिर ६ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरीद–बिक्री समझौता समेत गरेको छ ।
परियोजनाका प्रवर्धकमध्ये आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम के.सी., किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
आयोजना सन् २०२९ जुलाईभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि वार्षिक करीब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । यो आयोजना स्वतन्त्र उर्जा उत्पादकहरूमा महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया