अर्थमन्त्री खनाल र भारत राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसंग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मन्त्री खनाल र भारतीय राजदूत श्रीवास्तवबीच भेट भएको हो । उनीहरूका बीच नेपाल र भारतको लामो सम्बन्धको विषयमा छलफल भएको छ । भारतले नेपाललाई पु¥याउँदै आएको निरन्तर सहयोगका लागि अर्थमन्त्री खनालले राजदूत श्रीवास्तवलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसंगको आर्थिक साझेदारीको निरन्तरताको लागि अर्थमन्त्री खनालले आग्रह गरेका छन् ।

भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गरेका छन् ।

राजदूत श्रीवास्तवले भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।

नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ ।

Published : Tuesday, 2025 September 23, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया