जेनजीको सरकार होइन, हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गरेर प्रसाईंले भने, ‘यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौं ।’

प्रसाईंले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको बताए । उनले आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताए ।

‘हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को । व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपर्थ्यो । त्यो भएन,’ उनले भने, ‘यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको छ ।’

उनले आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताए । प्रसाईंले भने, ‘हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’

प्रसाईंले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने बताएका छन् ।

प्रसाईंले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । उनले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको बताए । ‘आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क प¥यौँ,’ उनले भने । आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

संयोजक प्रसाईंले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको बताएका छन् । उनले भने, ‘यो भगवान्हरूले बास गरेको ठाउँ हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’

उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’

प्रसाईंले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौं,’ उनले भने, ‘पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’

बालेनप्रति व्याङ्ग्य गर्दै प्रसाईंले कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताएका छन् । उनले भने, ‘आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनर्स्थापनाका लागि लड्छौँ ।’

प्रसाईंले जेनजी आन्दोलनलगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् । उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्न भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदै छ ।’

Published : Tuesday, 2025 September 23, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया