जेनजी आन्दोलनबाट क्षति भएको ट्राफिक कन्ट्रोल रुम एनआरएनएद्वारा १ करोडमा पुनर्निर्माण शुरु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय, रामशाहपथको कन्ट्रोल रुमको पुनर्निर्माण सुरु गरेको छ ।
शनिबारदेखि एनआरएनएका उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’को संयोजकत्वको टोलीले पुनर्निर्माणको काम शुरु गरेको हो ।
श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख (एआईजी) दानबहादुर कार्की, डीआइजी ओम राना, ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारी, डीएसपी अमरेन्द्रप्रसाद सिंहलगायत उच्च प्रहरी अधिकारीहरूसँग छलफल गरेर क्षति भएको वस्तुस्थितिबारे जानकारी लिएको छ ।
कन्ट्रोल रुमको प्राविधिक पुनर्निर्माण लागि झण्डै १ करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको संयोजक श्रेष्ठले बताएका छन् । सडक सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय भएको एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले ट्राफिक प्रहरीसँग समन्वयका लागि उपाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिइएको बताए । काठमाडौंमा भएका एनआरएनएका अभियन्ताहरूलाई सामाजिक कार्यमा जुट्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।
पहिलो दिन एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवर, सल्लाहकार उमेश पुडासैनी, महिला संयोजक तथा डिजास्टर सहसंयोजक रश्मी थापा, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, एनसीसी कतारका पूर्व उपाध्यक्ष उत्तम गुरुङ, युवा उद्यमी कमिटी अध्यक्ष तथा समाजसेवी नारायण भण्डारी, सदस्यहरू प्रदीप खनाल, मनीष उप्रेती, निराजन खत्री लगायतको सहभागिता रहेको थियो ।
पहिलो दिन रङ रोगनसहित आवश्यक संरचनाका लागि काम सुरु भएको छ । ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरिको ट्राफिक व्यवस्थापन अझै प्रभावकारी आधुनिक र वैज्ञानिक हुने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया