संविधानमाथि आक्रमण हुँदा घाउ लाग्यो : कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले संविधानमाथि आक्रमण हुँदा घाउ लागेको बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेता खतिवडाले भने, ‘संविधानमा बीचमा आक्रमण भएको छ । थोरै घाउ लागेको छ ।’ जेनजी आन्दोलनका क्रममा अन्तरिम सरकार गठन संविधानभन्दा बाहिरबाट गरिएकोप्रति नेता खतिवडाको भनाइ थियो । उनले संविधानभित्रैबाट निकास खोज्न सकिने वा संविधान संशोधन गरेर पनि जान सकिने बताएका छन् ।

उनले भने, ‘यो बेला सम्पूर्ण राजनीतिक पार्टीहरू, बुद्धिजीवीहरू, नेपाली जनताहरूलाई अनुरोध गर्न चान्छु, जेनजी पुस्ताको आन्दोलनबाट हामी एउटा चरणमा पुगेका छौँ ।’

‘नयाँ पुस्ता राजनीतिमा निकै उत्साहका साथ आएको छ । यसलाई स्वागत गर्न चाहन्छौँ,’ खतिवडाले भने, ‘यसको मतलव देशमा भएका क्षतविक्षत संरचनाहरू, ध्वस्त भएका भएका भवनहरू सबैको जिम्मा त्यो पुस्ताले लिनुपर्छ भन्ने होइन ।’

कांग्रेस नेता खतिवडाले भने, ‘राजनीति गर्दा अफ्ठ्यारा हुन सक्छन् । त्यसलाई समाधानको बाटोमा लैजाने कर्तव्य पनि तपाई हाम्रो हो ।’

उनले भने, ‘यो संविधानले सबै अधिकार स्थापित गरेको छ । केही कुरा छुटेका छन् भने यहि संविधानमा संशोधन गरेर हामी कार्यान्वयनको बाटोमा लैजान सक्छौँ ।’

‘संविधान सबै जात, वर्ग, धर्म सबैको भएको छ । हामी भेदभावरहित समाजको निर्माण गर्न चाहन्छौँ,’ नेता खतिवडाले भने ।

‘संविधान निर्माण गर्न हजारौं सपूतहरूले बलिदानी हुनु परेको छ । संविधान निर्माण भएपछि यसलाई कार्यान्वयनको चरणमा लैजान त्यतिकै ठूलो सकस आइपर्‍यो । स्थानीय तहको निर्वाचन गर्‍यौँ । भेटिने सरकार गाउँगाउँमा पुर्‍यायौँ,’ उनले भने ।

Published : Friday, 2025 September 19, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया