मुख्यमन्त्री बानियाँद्वारा क्षति भएको भौतिक संरचनाको अवलोकन, तोडफोड, आगजनी, हिंसा जेनजीको मुद्दा होइन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा भएको जनधन र संरचनागत क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बिहीबार मुख्यमन्त्री बानियाँले हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी भएका स्थानको अवलोकन गरेका छन् । उनले नागरिकलाई सेवाप्रवाहमा ढिलाइ नहुने प्रतिबद्धता जनाएका छन् ।
‘सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु दुःखद् छ, यस्ता घटना नघटेको भए राम्रो हुने थियो,’ उनले भने, ‘क्षतिग्रस्त संरचना छिट्टै मर्मत गरेर सेवा निरन्तरता दिनेछौँ ।’
मुख्यमन्त्री बानियाँले भने, ‘देशभरि सुनिश्चित ढंगले, सुनियाजित ढंगले जिउधनको ठूलो क्षति भएको छ । व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो की भन्ने हाम्रो बुझाइ छ । यो परिस्थितिमा सम्हालिएर राष्ट्रपतिज्यूले संविधानको रक्षा गर्दै मुलुकलाई विषम परिस्थितिबाट निकास दिएको अवस्था छ ।’
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सभालाई चाँडोभन्दा चाडो सञ्चालन गर्ने बारेमा तयारीमा रहेको बताए । सभामुख भुवन पाठकले सभामुख पदबाट राजीनामा दिएको विषयमा बानियाँले भने, ‘सभामुखले राजीनामा दिएको कुरा आएको छ । यसको प्रक्रिया हुन्छ । प्रक्रियामा सल्लाह गरेर सम्पूर्ण दलहरूको प्रदेश सभा छ । उपसभामुख हुनुहुन्छ । उपसभामुखमार्फत संसद चलाउन सकिन्छ । उहाँको राजीनामा आयो भनेर अहिले नै आत्तिएर केही गर्नुपर्छ भन्ने छैन ।’
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त भवनहरूको अवलोकन गरेका छन् ।
जेन–जी प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवनसहित नौ मन्त्रालय र तिनअन्तर्गतका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । मुख्यमन्त्री बानियाँले सरसफाइ तथा पुनःस्थापनाका काम तिव्र गतिमा अघि बढाइने बताउँदै जनसेवामा कुनै अवरोध नहुने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया