तरुण अध्यक्ष गुरुङद्वारा सभापति देउवासहित सिटौला, सिंह, भण्डारी र खड्काको क्षति भएको निवासको अवलोकन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवाससहित कांग्रेस नेताहरूको क्षति तथा आगजनी भएका निवासहरूको अवलोकन गरेका छन् ।

बुधबार तरुणहरूका साथ पुगेर अध्यक्ष गुरुङले जेनजी आन्दोलनका नाममा भएको आगजनीको अवलोकन गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा आफ्नै घरमा बसेका बेला प्रवेश गरी हत्या गर्ने उद्देश्यले आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै निन्दा गरेका छन् ।

अध्यक्ष गुरुङले भने, ‘लोकतन्त्रका लागि जीवनभरि संघर्ष गरेको आदरणीय व्यक्ति सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको हिंसा जति निन्दा गरे पनि कमी हुन्छ ।’

जेनजी पुस्ताको आनदेलनका नाममा भदौ २३ र २४ गते काठमाडौं लगायत देशभरि प्रदर्शन भएको थियो । भदौ २४ गते जेनजी आन्दोलनका नाममा देउवा निवास, बुढानिलकण्ठमा प्रवेश गरेर सभापति देउवा र नेतृ डा.राणाको ज्यान लिने गरेर सांघातिक आक्रमण गरेको थियो । गम्भीर अवस्थाका सभापति देउवा र डा.राणाको उपचार भइरहेको छ ।

तरुण अध्यक्ष गुरुङले कांग्रेस नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्य दीपक खड्काको निवासको पनि अवलकोन गरेका छन् ।

अध्यक्ष गुरुङले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण तरुणहरूलाई धैर्य गर्दै एकआपसमा एकता सहित अघि बढ्नुपर्ने बताएका छन् । उनले संविधानको रक्षा गर्दै कांग्रेसको मार्गदर्शनमा अगाडि बढ्नुपर्ने बताए ।

Published : Wednesday, 2025 September 17, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया