जेनजी आन्दोलनमा माओवादी, राप्रपा र रास्वपाको घुसपैठ, कांग्रेस नेता बस्नेतको २ वटा घरमा आगजनी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताएका छन् ।
आइतबार भक्तपुरको बालकोटस्थित घरमा नेता बस्नेतले माओवादी र राप्रपाका नेता, कार्यकर्ताहरूले राजनीतिक प्रतिशोधमा आफ्नो घर जलाएको बताए । उनले जेनजीको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चोखो नदेखिएको बताए ।
‘जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ,’ बस्नेतले भने, ‘राप्रपा पनि चोखो देखिएको छैन । सिसिटिभी फुटेजहरू बाहिर आइरहेका छन् ।’
नेता बस्नेतले भने, ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ । मेरै घर तीनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ । रास्वपा पनि सक्रिय भएको देखिन्छ । स्वदेशीमात्र छैन । विदेशी पनि देखिएका छन् ।’
उनले आफूलाई धेरैले नबोल्नु भनेको उल्लेख गर्दै प्रजातन्त्रका लागि लडेको व्यक्ति देशलाई संकट पर्दा डराएर बस्न नहुने बताए । ‘मलाई धेरैले नबोल सत्य बोल्दा गाह्रो हुन्छ भन्छन् । प्रजातन्त्रका लागि लडेर आएको मान्छे हुँ म,’ उनले भने ।
भदौ २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित घर र बालकोटस्थित घरमा घुसपैठ समूहबाट आगजानी भएको छ । घटनापछि बस्नेतलाई भेट्न सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्ता बालकोट पुगेका थिए ।
यसैबीच, कांग्रेसका नेता बस्नेतले यस विषम् परिस्थितिलाई मध्यनजर गर्दै आवश्यकता अनुसार देशव्यापी रुपमा रक्तदानको कार्यक्रम तत्काल आयोजना गर्न अपील गरेका छन् । उनले नेपाल लोकतान्त्रिक खेलकुद संघ र खेलकुद विभागलाई रक्तदान कार्यक्रम गरेर जेनजी आन्दोलनका घाइतेको उपचारमा रगतको अभाव हुन नदिन आग्रह गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया