आन्दोलनकारीले मेरो घरमा पनि आगजनी गरेको हुँदा जिल्ला आउन असमर्थ छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जेनजी आन्दोलनका क्रममा गृह जिल्ला तनहुँमा सरकारी तथा निजी सम्पतिहरूमा भएका आगजनी र तोडफोडको घटनाले अत्यन्त मर्माहित भएको जनाएका छन् ।

शनिबार विज्ञप्ति जारी गरेर नेता भण्डारीले भने, ‘जिल्लाबासीहरूसँग यो दुःखको घडीमा प्रत्यक्ष रुपमा भेटघाट गरि मलम लगाउने तीब्र इच्छा हुँदाहुँदै पनि आन्दोलनकारीहरूले मेरो घरमा समेत आगजनी र तोडफोडको घटना गराएको हुँदा तत्काल जिल्ला आएर तपाईहरूसँग भेटघाट गर्न असमर्थ रहेको जानकारी गराउँदछु ।’

‘यहाँहरूको दुःखमा साथ दिन समय मिलाएर छिट्टै गृह जिल्ला आउने प्रतिवद्धता जाहेर गर्दछु,’ उनले भने ।

भण्डारीले भने, ‘मुलुकको राजनीति यतिबेला जटिल परिस्थितीमा रहेको विषय सम्पूर्ण देशबासीलाई अवगत नै छ । यस विपद्को घडीमा संयमता अपनाउन सम्पूर्ण राजनीतिक दल, आमनागरिक र सरोकारवाला पक्षहरूलाई आग्रह गर्दछु ।’

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले विगत देखिनै नेपाललाई क्रिडास्थल बनाउँदै आइरहेको विषय सम्पूर्ण देशबासीलाई जगजाहेर नै छ,’ उनले भने, ‘यो जटिल घडीमा अझ क्रिडास्थल बनाउन सक्ने हुँदा सजग रहन राजनीतिक दल र आम नागरिकका लाई आग्रह गर्दछु ।’

‘कानूनी मूल्य मान्यतालाई स्थापित गर्दै जेनजी आन्दोलनका क्रममा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कार्वाहीको दायरमा ल्याउन समेत जोडदार माग गर्दछु,’ पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले भने ।

Published : Saturday, 2025 September 13, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया