सभापति देउवा लगायतमाथि भएको आक्रमणको निन्दा समेत नगरी राजीनामा र जिम्मेवारीको माग ठीक होइन : रोज राणा
प्यूठान । नेपाली कांग्रेस, प्यूठान प्रदेश सभा २ का सभापति रोज राणाले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत सबै राजनीतिक दलका नेताहरूप्रति भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर सभापति राणाले घाइतेहरू शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला केही उत्तेजित समूहले सभापति देउवा र नेतृ डा.राणालाई ज्यान लिने उदेश्यले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । देउवा दम्पत्तिको काठमाडौंमा उपचार भइरहेको छ ।
कांग्रेसका केही पदाधिकारीहरूबाट सभापति देउवा लगायतमाथि भएको सांघातिक आक्रमण तथा घरमा भएको तोडफोडको निन्दा समेत नगरेर राजीनामा र जिम्मेवारी हस्तान्तरणको माग गरेकोमा पनि सभापति राणाले विरोध गरेका छन् ।
सभापति राणाले भने, ‘केही दिन यता पार्टीभित्र देखा परेका असन्तुष्टि र आन्तरिक विवादप्रति युवाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीका केन्द्रीय नेताहरूबाट नै सभापतिज्यू लगायतको निवासमा भएको तोडफोड र सांघातिक आक्रमणको निन्दा समेत नगरी केवल राजीनामा र जिम्मेवारी हस्तान्तरणको माग गरेको देखिन्छ । जसका लागि यो समय अनुकूल र विधि सम्मत नभएको आम नेपाली कांग्रेसको बुझाइ छ ।’
‘नेपाली कांग्रेस अनुशासन, विधि र पद्धतिको जगमा उभिएको पार्टी हो,’ राणाले भने, ‘यसलाई अक्षुण राख्न सम्पूर्ण नेता–कार्यकर्तामा विधि पालना, धैर्य र सद्भाव कायम राख्न विनम्र अनुरोध गर्दछौँ ।’
क्षेत्रीय सभापति राणाले भने, ‘विशेष गरी, यस संकटको घडीमा सबैले संयम र विवेक देखाउँदै पार्टीका शीर्ष नेताहरूको स्वास्थ्यलाभको समयसम्म प्रतीक्षा गर्नुपर्ने हाम्रो ठहर छ ।’
‘नेपाली कांग्रेसको नेतृत्वमा भएका ऐतिहासिक लोकतान्त्रिक आन्दोलनहरू र देशको सकारात्मक परिवर्तनका क्षणहरूलाई हामी सधैँ स्मरण गर्दछौँ,’ उनले भने, ‘यस क्रममा भएका कमीकमजोरीहरूको समीक्षा गर्दै भविष्यमा अझ परिष्कृत रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया