आपराधिक गतिविधिहरू भएको देखिए सशस्त्र प्रहरीलाई जानकारी दिन आग्रह

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधिहरू कहीं कतै भएको देखिएमा वा पाइएमा सूचना दिन आग्रह गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर आपराधिक गतिविधिमा लाग्ने व्यक्ति वा घटनाबारे जानकारी भएमा सूचना दिएर सहयोग गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हालैको विषम परिस्थितिबाट सामान्यकरण हुँदै आउने क्रममा केही व्यक्ति वा समूहहरूले विभिन्न संचार माध्यम तथा सामाजिक सज्जालबाट तथ्यहीन भ्रामक प्रचार प्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाई सीमा अपराध लगायत लुटपाट, आगजनी जस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि संचालन गर्न सक्ने हुँदा यस्ता व्यक्ति तथा आपराधिक गतिविधिहरू कहीं कतै भएको देखिएमा वा पाइएमा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नं. १११४ वा अन्य सुरक्षा निकायहरूमा तुरुन्त जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछ ।’

‘राष्ट्रमा शान्ति र सु–व्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी बल, नेपाल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्णरूपमा संयमताका साथ परिचालन भइरहेको छ,’ सशस्त्र प्रहरीले भनेको छ ।

‘राज्यद्वारा सुम्पिएको मुख्य कार्यादेश अन्तर्गत रहेको सीमा सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तर्राष्ट्रिय सीमामा खटिएका समकक्षी लगायत सरोकारवाला अन्य निकायहरूसँगको समन्वयमा सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमण जस्ता कार्यहरू नियन्त्रण गर्न पूर्णरुपमा कटिबद्ध रही प्रभावकारी रुपमा परिचालन हुँदै आइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2025 September 12, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया