दोस्रो एफएसिआई बुद्धिचालमा सिलवाल उत्कृष्ट

काठमाडौं । कजाकिस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गल्र्स चेस च्याम्पियनसिपको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंस्थित होटल उड ल्याण्डमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल बुद्धिचाल महासंघले सञ्चालन गरेको टालेण्ट हण्ट चेस प्रतिस्पर्धामा नेपालका ५४४ युवा खेलाडीहरूले उत्साह जनक सहभागिता जनाएका थिए ।

अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम अघि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपालका राष्ट्रिय खेल संघहरूमध्ये नेपाल बुद्धिचाल महासंघको गतिविधि उच्च रहेको धारणा व्यक्त गरेका छन् ।

घिसिङले कुनै पनि खेलका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय पदक प्राप्त गरे पश्चात सरकारले घोषणा गरेका नगद पुरस्कार सम्मानको कार्यविधि लागू भइसकेको हुँदा अभिभावकलाई समेत ढुक्क भई खेलकुदमा लगाउन आह्वान गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा नेपालका उच्च रेटेड सीएम पुरुषोत्तम सिलवाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पुरुषोत्तम सिलवाल युवा १८ वर्षमुनिको खुल्ला विधामा प्रथम स्थान प्राप्त गर्दै नगद १० हजार पुरस्कार हात पारेका छन् । सोही विधामा समिर भट्ट द्वितीय बन्दै नगद ७ हजार र विशेष शाही तृतीय स्थानमा रहँदै नगद ४ हजार जितेका छन् ।

कूल १५ विधामा दशौं स्थानसम्म प्राप्त गरेका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रममा पुरुष १६ वर्षमुनि प्रतीक सुवेदी प्रथम, एआईएम अविक शाह द्वितीय र रोचिन डोंगल तृतीय भएका छन् ।

पुरुष युवा १४ वर्षमुनि कशिभ कार्की प्रथम, अर्पन चापागाईं द्वितीय र आयुष भण्डारी तृतीय भए । युवा १२ वर्षमुनि अग्रिम सैंजु प्रथम, समृद्ध श्रेष्ठ द्वितीय र हार्दिक पन्तले तृतीय पुरस्कार जितेका छन् ।

पुरुष युवा १० वर्षमुनि आरभलाल श्रेष्ठ प्रथम, साहस श्रेष्ठ द्वितीय र हृदय बस्नेत तृतीय भए । युवा ८ वर्षमुनि शुभांग प्रधान प्रथम, अंकुर पोखरेल द्वितीय र श्रृयष सापकोटा तृतीय बनेका छन् । उनीहरूले क्रमशः नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गरेका छन् ।

छात्रातर्फ युवा १६ वर्षमुनि पूर्णिमा गुरुङ प्रथम, प्रेसियस अधिकारी द्वितीय र प्रज्ञा पन्त तृतीय बनिन् । छात्रा युवा १४ वर्षतर्फ श्रेषा दुवाल प्रथम, नेलिशा ओझा द्वितीय र गौतम विनायक तृतीय भएका छन् ।

छात्रा युवा १२ वर्षमुनि उज्जिवनी कँडेल प्रथम, निहान श्रेष्ठ द्वितीय र प्रविशा दवाडी तृतीय भइन् । छात्रा युवा १० वर्षमुनि अग्रता आचार्य प्रथम, ग्लोसी श्रेष्ठ र झरना मगर तृतीय तथा युवा ८ वर्षमुनि शुभश्री श्रेष्ठ प्रथम, सारा तामाङ द्वितीय र अधिरा पौडेल तृतीय बनेका छन् ।

प्रतियोगितामा जम्मा ११२ जना विजेता खेलाडीहरूलाई कूल नगद पुरस्कार ३ लाख ९ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

Published : Saturday, 2025 September 6, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया