पाकिस्तानबाट काठमाडौं हुँदै ३ आतंकवादी बिहार छिरेपछि हाई अलर्ट

काठमाडौं । पाकिस्तानबाट काठमाडौं आएर नेपाल हुँदै तीनजना आतंकवादी भारत छिरेको भन्दै बिहार प्रहरीले हाई अलर्ट जारी गरेको छ ।

पाकिस्तानबाट तीनजना आतंकवादी काठमाडौं हुँदै बिहार छिरेको एनडीटीभीले जनाएको छ ।

नेपाल हुँदै बिहार छिर्नेमा हसनैन अली–रावलपिन्डी, आदिल हुसैन–उमरकोट र मोहम्मद उस्मान–बहावलपुर रहेका छन् । बिहार प्रहरीले यी तीनजना अगस्टको दोस्रो हप्ता काठमाडौं आएको जनाएको छ । ती ३ जना आतंकवादीहरू गत हप्ता बिहार छिरेको भारतीय प्रहरीले जनाएको छ ।

इन्डियन एक्सप्रेसले तीनजना आतंकवादी जैश–ए–मोहम्मदसँग आबद्ध रहेको जनाएको छ । उनीहरू बिहारमा आउँदै गरेको विधानसभा चुनाव बिथोल्न आएको समेत जनाइएको छ ।

पूर्णियाका डीआईजी प्रमोदकुमार मण्डलले पूर्णिया, कटिहार, अररिया र किशनगन्जका एसपीलाई हाई अलर्टमा रहन निर्देशन दिएको इन्डियन एक्सप्रेस जनाएको छ । यी सबै जिल्ला नेपालका सीमावर्ती जिल्ला हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले नेपालको बाटो हुँदै ३ जना आतंकवादी भारत छिरेको भन्ने खबरमा कुनै सत्यता नरहेको बताएका छन् ।

डीआईजी घिमिरेले नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधानसभा चुनाव आएकाले दुवै देशका सुरक्षा संयन्त्रको नियमित बैठक र सूचना आदान–प्रदान जारी रहेको बताएका छन् ।

‘छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतासम्बन्धी विषयमा हामी सतर्क छौं,’ प्रहरी प्रवक्ता समेत रहेका डीआईजी घिमिरेले भने, ‘बिहारमा चुनाव आएकाले पनि सुरक्षा संवेदनशीलता हुने नै भयो । नेपाल आएको भन्ने खबरमा कुनै सत्यता छैन ।’

Published : Thursday, 2025 August 28, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया